१५ असार २०८३, सोमबार

डायरी: कमजोर प्रस्तुतिको उदाहरण

कात्तिक २०, २०७४
डायरी: कमजोर प्रस्तुतिको उदाहरण


काठमाडौं, ६ जेठ–
 चलचित्र ‘डायरी’ मा एउटा गीत छ, ‘ईश्वर तेरो जीत भो । मेरो हार भो ।’
गीतको भावअनुसार चलचित्र ‘डायरी’ को पनि हार भएको छ । ‘नोभेम्बर रेन’ अभिनेत्री छुल्ठिम गुरुङले निर्माण गरेको यो चलचित्र उत्कृष्ट बन्न सकेको छैन । व्यावसायिक रूपमा बनाउन खोजिएको चलचित्र ‘डायरी’ मा स–साना कमजोरीले चलचित्रलाई पूरै कमजोर बनाएको छ ।

केटीलाई मतलब नगर्ने र दुई मिलनसार साथीहरूसँग रमाउने युवा स्वप्निल (सन्नी सिंह) एक¬ युवतीको प्रेममा पर्छ । जोया (छुल्ठिम गुरुङ) काठमाडौंको एक रेडियोमा कार्यक्रम प्रस्तोताका रूपमा काम गर्छे ।
युवापुस्ताको समकालीन विषय र माया प्रेमका बारेमा कार्यक्रम चलाइरहने जोयाको भेट संयोगले स्वप्निलसँग हुन्छ । उनीहरूबीच माया बस्छ । परिवारको मायाबाट वञ्चित जोयाको जिन्दगीमा आएको स्वप्निलले जोयाका सबै इच्छा पूरा गरिदिन्छ ।

उनीहरूको माया मौलाउँदै जान्छ । यत्तिकैमा एकदिन जोयाको कसैले हत्या गर्छ । अब उक्त हत्याराको खोजी गर्न स्वप्निलले डायरीको सहारा लिन्छ । कथा यसैको वरिपरि घुम्छ ।

तर फिल्मको कथा यति जेलिएको छ कि दर्शकले फिल्म बुझ्न नै मेहनत गर्नुपर्छ । अनि कथानकले दर्शकलाई तान्न सक्दैन ।

फिल्म सस्पेन्स जस्तो पनि लाग्दैन ।

एक शब्दमा भन्नुपर्दा फिल्म झुर छ । केही दृश्यहरू आकर्षक भए पनि पूरै फिल्म बन्नका लागि केवल केही दृश्य राम्रो बनेर हुँदैन । फिल्मका पूरै दृश्य र संवाद राम्रो हुनुपर्छ ।

यो चलचित्रको सबैभन्दा कमजोर पक्ष यसको कथानक हो । कथानक मात्र कमजोर नभई निर्देशन पनि उस्तै स्तरहीन छ ।

निर्देशक अनिल योञ्जनले स्क्रिप्टलाई कलात्मक रूपमा प्रस्तुत गर्न सकेको भए चलचित्र आकर्षक बन्न सक्थ्यो तर उनी नराम्ररी चुकेका छन् ।

चलचित्रमा केही संवाद राम्रा छन् । ती संवादलाई बाँकी रद्दी संवादले ओझेलमा पारेका छन् । पात्रको चरित्रचित्रण बलियो बनेको छैन । धेरैजसो दृश्य र घटना फिल्ममा विनाकारण आइदिन्छन् ।

नवनायक सन्नी सिंहले बाहेक अन्य कलाकारले आफ्नो भूमिकालाई चरित्र अनुकूल बनाउन सकेका छैनन् । अभिनेत्री रेखा थापालाई भिलेनका रूपमा देखाइएको भूमिकाले दर्शकलाई आकर्षण गर्दैन । उनले चरित्रलाई फिल्ममा उतार्न सकेकी छैनन् ।

उनका फिल्मको तुलनामा यो फिल्ममा रेखाको अभिनय कुनै पनि कोणले फरक छैन । यसलाई अभिनेत्री रेखा थापा पहिलोपटक खलनायिका भएको फिल्म भनिएर प्रचार गरिएपनि यो खलनायकत्वले दर्शकलाई कुनै मजा दिँदैन ।

केही दृश्यमा छायांकन पक्ष आकर्षक देखिएपनि धेरै शटलाई ‘क्लोज अप’ मा लिइएको छ । सिनेमाटोग्राफरले फिल्मलाई स्वादिलो बनाउन छायांकन पक्षले पनि उस्तै भूमिका खेल्छ भन्ने भुल्नु हुन्थेन ।

चलचित्रका गीत तथा संगीत स्वादिला छन् । गीत संगीतले भने दर्शकलाई चित्त बुझाउन सक्छ । गीत मात्र होइन, फिल्मको एक्सन पक्ष पनि आकर्षक छ । कोरियन फिल्मको प्रभाव देखिने एक्सनले दर्शकलाई मनोरञ्जन दिन्छ । सन्नी सिंहको एक्सन सीनहरू दमदार छन् ।

धेरै कारणले चलचित्र औसतभन्दा माथि उठ्न सकेको छैन । परम्परागत नेपाली चलचित्रको तुलनामा भने यो चलचित्र त्यति पूरै खत्तम त भन्न मिल्दैन तर राम्रो बनाउन सक्ने ठाउँहरू प्रशस्तै छन् । एक्सन मन पराउने दर्शकलाई फिल्म हेरुञ्जेल मनोरञ्जन प्राप्त हुनसक्छ ।

पुराना चलचित्र हेर्ने दर्शकका लागि फिल्मले ध्यान केन्द्रित गर्न सकेपनि नयाँ स्वाद खोज्ने दर्शकका लागि भने चलचित्रले दिमाग ह्याङ बनाउन सक्छ । धेरै आशा नराखी फिल्म हेर्न जानुभयो तपार्इंलाई दिक्क लाग्नेछैन ।



फिल्मः डायरी
स्टारः २
कलाकारः रेखा थापा, सन्नी सिंह, छुल्ठिम गुरुङ आदि ।
निर्देशकः अनिल योञ्जन
विधाः एक्सन

salt training

कमेन्ट गर्नुहोस्