अमेरिकाका रिपब्लिकन सांसदहरूले देशमा चीनको बढ्दो प्रभावको सामना गर्नका लागि एक दर्जनभन्दा बढी विधेयक कंग्रेससामु पेश गरेका छन् ।
अमेरिका र चीनबीचको सम्बन्ध अहिले सबभन्दा खराब स्थितिमा छ । दुई देश व्यापार, कोरोनाभाइरस महामारीको उद्गम, दक्षिण चीन सागरमा चीनको सैन्य कदम र मानवअधिकारका विषयमा विवाद गरिरहेका छन् ।
यी विधेयकहरू बिहीवार संसदमा प्रस्तुत गरिएका हुन् ।
यसबाहेक सिनेटर रिक स्कटले बेग्लै ताइवान अतिक्रमण रोकथाम ऐनलाई पुनः सदनमा प्रस्तुत गरेका हुन् । ताइवानलाई चीनबाट जोगाउन यो विधेयक पुनः ल्याएको उनको भनाइ छ ।
पाँचवटा विधेयक ल्याउने सांसद मार्क ग्रीनले कम्युनिस्ट चीनको सैन्य तथा आर्थिक शक्तिमा वृद्धि नै अमेरिकाले सामना गर्ने सबभन्दा ठूलो सुरक्षा चुनौती भएको बताए । चीनका नेताहरूले कूटनीतिक, सूचना, सैन्य तथा आर्थिक क्षेत्रमा प्रभुत्व जमाउन खोजेको उनको भनाइ छ ।