०९ असार २०८३, मंगलबार

प्रतिनिधि सभा विघटनबारे कांग्रेसमा कुनै भिन्न मत छैन : प्रदीप पौडेल

प्रतिनिधि सभा विघटनबारे कांग्रेसमा कुनै भिन्न मत छैन : प्रदीप पौडेल

नेपाली कांग्रेसका युवानेता प्रदीप पौडेलले प्रतिनिधि सभा विघटनका बारेमा पार्टीमा कुनै पनि प्रकारको भिन्न मत नभएको बताएका छन् ।

नुवाकोट कांग्रेसको नवनिर्मित भवन उद्घघाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा विघटनका बारेमा कांग्रेसमा फरक–फरक मत नरहेको बताएका हुन् ।

'पदाधिकारी बैठकले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भनेको थियो । केन्द्रीय कार्यसमिति बैठकले पनि पदाधिकारी बैठककै निष्कर्षलाई पारित गरेको छ,' नेता पौडेलले भने, 'बहुमतले होइन । सर्वसम्मत निर्णय गरेको हो । संसद् विघटनका बारेमा कांग्रेसमा फरक–फरक मत छैन ।'

उनले कांग्रेस संविधानवादमा विश्वास राख्ने पार्टी भएको प्रष्टिकरण दिँदै प्रतिनिधि सभा विघटनका विषयमा कांग्रेस कतै पनि नअल्झिएको जिकिर गरे ।

नेता थापाले कांग्रेसले सर्वोच्च अदालततको स्वतन्त्रता र निष्पक्षतालाई कायम गर्ने काम गरेको भन्दै अदालतलाई कांग्रेसको मान्यता सुरक्षित गरिदिन पनि आग्रह गरे ।

'म सम्माननीय अदालतका न्यायाधीशज्यूहरुलाई भन्न चाहन्छु शक्ति पृथकीकरणको सिन्द्धान्तलाई कांग्रेसले मान्दछ । अदालतको स्वतन्त्रता र निष्पक्षतालाई कायम गर्ने काम कांग्रेसले गरेको हो । त्यसैले कांग्रेसको मात्यतालाई तपाईंले सुरक्षित गर्दिनुस्,' उनले भने ।

नेता पौडेलले अदालतले संविधानको धाराभित्र बसेर फैसला गर्ने भन्दै प्रतिनिधि सभा पुनःस्थापना भएपछि सरकारको असंवैधानिक कदम सच्चिने पनि बताए ।

'अदालतले पनि संविधानको धाराभित्र बसेर निर्णय गर्ने हो । अदालतले संविधान संशोधन गर्न मिल्दैन,' पौडेलले भने, 'अदालतले संविधानभित्रै शब्दलाई प्रयोग गरेर निर्णय गर्ने हो । त्यसकारण यो असंवैधानिक कदम संसद् पुनःस्थापना पछि सच्चिने छ ।'

उनले गणतन्त्र विरोधीले गणतन्त्रको नेतृत्व गरेका कारण मुलुक संकटमा फसेको पनि टिप्पणी गरे । 'गणतन्त्रको नेतृत्व गणतन्त्र विरोधीले नेतृत्व गरेपछि फस्टाउने कुनै भएन,' नेता पौडेलले भने, 'यो भनेको बाँदरलाई मकैबारी हेर्न लगाउनु जस्तो हो ।'

salt training

कमेन्ट गर्नुहोस्