लाहोर, ६ जेठ– विदेशमा धन लुकाएको भन्ने सन्दर्भमा सर्वोच्च अदालतको आदेशलाई ध्यानमा राखी सात दिनभित्र प्रधानमन्त्री पदबाट राजीनामा नगरेमा नवाज शरीफविरुद्ध पाकिस्तानका वकिलहरुले देशव्यापी आन्दोलन गर्ने भएका छन् ।
‘पानामा पेपर्स’ भनिँदै आएको मुद्दामा सर्वोच्च अदालको फैसलाको परिप्रेक्ष्यमा शरीफले पद छाड्नुपर्छ । अन्यथा वकिलहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
तर शरीफको पाकिस्तान मुस्लिम लिग पार्टीको समगर्न गर्ने वकिलहरुले भने राजीनामा मागको विरोध गरेका छन् । शनिबार सो विषयमा विवाद हुँदा दुईपक्षिय वकिलहरुबीच हात हालाहाल समेत भएको पाकिस्तानको ‘डन’ पत्रिकाले समाचार लेखेको छ ।
सन् २००७ मा पाकिस्तानका वकिलहरुको आन्दोलनले सैनिक शासक परवेश मुशर्रफलाई थर्काएको थियो । उक्त आन्दोलनबाट अपदस्थ प्रधान्यायाधीशको पुनः पद वहाली भएको थियो ।