
महाभारत हिन्दू धर्मको अनुपम ग्रन्थ हो । यसमा अनेकौं आश्चर्यलाग्दा कथाहरू भेटिन्छन् । यहाँ तीमध्ये एउटा कथा प्रस्तुत गर्ने जमर्को गरिँदैछ ।
धृतराष्ट्रको विवाह गान्धार देशकी राजकुमारी गान्धारीसँग भएको थियो । गान्धारीको कुण्डली दोष भएका कारण एक साधुको सल्लाहबमोजिम उनको विवाह एउटा बाख्रोसँग गरिएको थियो । पछि त्यो बाख्रोको बलि दिइयो ।
यो कुरा गान्धारीको विवाहका बेलामा लुकाइएको थियो । पछि धृतराष्ट्रले यो कुरा थाहा पाएपछि गान्धार नरेश सुबाला र उनका छोराहरूलाई कारागारमा राखेर यातना दिइएको थियो ।
एक एक गरी सुबालाका सबै छोरा मर्न थाले । उनीहरूलाई खानका लागि मुट्ठीभरि मात्र भात दिइन्थ्यो । सुबालाले आफ्नो सबभन्दा कान्छो छोरो शकुनिलाई प्रतिशोधका लागि तयार पारे । सबैजनाले आफ्नो भागको भात शकुनिलाई दिन्थे । ऊ बाँचेर कौरवको नाश गरोस् भन्ने चाहना उनीहरूमा थियो ।
मृत्युअघि सुबालाले धृतराष्ट्रलाई शकुनि छोड्न बिन्ती गरे र धृतराष्ट्रले त्यो बिन्ती माने । सुबालाले शकुनिलाई आफ्नो करङको हाडबाट पासा बनाउन भने र शकुनिका पिताको हाडबाट बनेको जुवाको त्यही पासा कौरव वंशको नाशको कारण बन्न पुग्यो ।
शकुनिले हस्तिनापुरमा सबैको विश्वास जिते अनि १०० कौरवका अभिभावक बने । उनले दुर्योधनलाई युधिष्ठिरविरुद्ध भड्काएर महाभारत युद्धको आधार तयार पारे ।