
तनहुँ जिल्लाको व्यास नगरपालिका–१० स्थित शिव माध्यमिक विद्यालयबाट डिजिटल सिकाइ अभियान शुभारम्भ गरिएको छ ।
व्यास नगरपालिकाको सहयोग तथा एकीकृत हरित विकास नेपालको सहकार्य एवं टच स्काइ एजुकेसन नेटवर्क र बीएसएस कम्प्युटर लर्निङ सेन्टर प्रालिको प्राविधिक सहयोगमा डिजिटल सिकाइ अभियान मंगलवारदेखि थालिएको हो ।
अभियानको नगर प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरे । नगर प्रमुख न्यौपानेले अबको शिक्षा प्राविधिमैत्री बनाउन आवश्यक रहेको बताए ।
भौतिक सुधारका साथै गुणस्तरीय शिक्षा लिने अपेक्षा गरिए पनि शिक्षण प्राविधि पुरानै ढर्राको रहेकाले यसको अन्त्य गर्दै नयाँ प्रविधितर्फ अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
शिक्षक महासंघका जिल्ला अध्यक्ष रामचन्द्र पोखरेलले हिजोको शिक्षण सिकाइ चक, डस्टर र कालोपाटीबाट शुरुआत भए पनि अहिलेको माग डिजिटल प्राविधि रहेकाले यसको प्रयोग गर्दै अघि बढ्नुपर्ने बताए ।
स्थानीय तह, साझेदारी संस्था र विद्यालय गरी त्रिपक्षीय सहभागितामा कार्यक्रम सञ्चालन गरिने छ । अफलाइनमा आधारित सफ्टवेयरमार्फत शिक्षकको प्राविधिक क्षमतामा वृद्धि गर्ने लक्ष्य रहेको डिजिटल सिकाइ अभियानका कार्यक्रम संयोजक श्रीकृष्ण आचार्यले बताए ।
प्राविधिमार्फत २०० भन्दा बढी वेवसाइट उपलब्ध गराइने छ । उनले भने, ‘मार्कसिट, ग्रेडसिट, तलबी भर्पाइ, पुस्तकालय व्यवस्थापन लगायतका ढाँचा, डिजिटल किताबलगायत उपलव्ध गराइने छ ।’
कार्यक्रमका लागि व्यास नगरपालिकाबाट ४ लाख रुपैयाँ, साझेदारी संस्था एकीकृत हरित विकास नेपालबाट ३ लाख ५० हजार सहयोग रहेको छ । जिल्लामा रहेका ७५ वटै विद्यालयमा प्राविधिक शिक्षा पुर्याउने लक्ष्य रहेको उनले बताए ।
व्यास नगरपालिकाको सहयोगमा सबै विद्यालयका शिक्षकलाई ६० दिने प्राविधिक तालिम प्रदान गरिसकिएको संस्थाले जनाएको छ । व्यास नगरपालिका –१० मा रहेका ४ माध्यमिक विद्यालयमा आईसीटी प्याकेज उपलब्ध गराइसकिएको छ । जसमा भानु मावि, सर्वज्योति मावि, शिव मावि र चण्डीदेवी मावि छन् ।