भारतको गुजरात राज्यमा रहेको अहमदाबादस्थित मोटेरा स्टेडियम संसारकै सबभन्दा ठूलो क्रिकेट स्टेडियम हो ।
त्यसलाई अब नरेन्द्र मोदी स्टेडियम नाम दिइने भारतको केन्द्र सरकारका गृहमन्त्री अमित शाहले घोषणा गरेका छन् ।
भारत र इंग्ल्यान्डबीच हुने तेस्रो टेस्ट म्याचअघि बुधवार स्टेडियमको उद्घाटन समारोहमा नयाँ नामको अनावरण गरिनेछ ।
उक्त स्टेडियममा ६ महिनाभित्र ओलम्पिक, एसियाड र कमनवेल्थ जस्ता खेलको आयोजना गर्न सकिने सुविधा रहेको शाहले बताए । अहमदाबादलाई अब खेलकुदको शहरका रूपमा चिनिने उनको भनाइ छ ।
मोदीले गुजरातका मुख्यमन्त्री छँदा देखेको सपना पूरा भएको शाहले बताए । नयाँ स्टेडियमलाई संसारको सबभन्दा ठूलो र उच्च प्रविधियुक्त स्टेडियमका रूपमा विकसित गरिएको छ ।
यो स्टेडियम ६३ एकडमा फैलिएको छ र यसलाई बनाउनका लागि लगभग ८०० करोड भारु खर्च भएको छ । स्टेडियममा ७६ वटा कर्पोरेट बक्स, चारवटा ड्रेसिङ रूम र तीनवटा प्राक्टिस ग्राउन्ड छन् ।
वर्षाको पानी निकाल्नका लागि लगाइएको आधुनिक सिस्टमका कारण आधा घन्टामा खेल शुरू हुनेछ । डेनाइट म्याचका लागि एलईडी लाइट पनि राखिएको छ ।