काठमाडौं, ७ जेठ - केही समयअघि लोकान्तरलाई अन्तर्वार्ता दिने क्रममा आफूले साढे दुई करोडको फिल्म बनाउने अनौपचारिक जानकारी दिएका थिए । साथै उनले उक्त फिल्मको नाम छिट्टै घोषणा गर्ने बताएका थिए ।

सोही योजनाअनुरुप नायक निखिल उप्रेतीले आफ्नो चलचित्रको औपचारिक घोषणा गरे । चलचित्रको स्तरवृद्धि र विदेशी बजारसँगको प्रतिस्पर्धासँग गराउने उद्देश्यले निर्माण गर्न लागिएको चलचित्रको नाम ‘कमिटमेन्ट’ जुराइयो । नेपाली चलचित्र भएपनि सत्तरी प्रतिशतभन्दा धेरै हिन्दी भाषाको प्रयोग गरिने भनिएको चलचित्रमा बलिउडका चर्चित कलाकार पनि सहभागी हुने भएका छन् ।
काठमाडौं, नेपाल र भारत सीमाना, थाइल्याण्ड, सिंगापुर र अमेरिकामा समेत छायांकन हुने चलचित्रमा भारतमा अलपत्र परेकी एक युवतीलाई साठी घण्टामा नेपाल ल्याएको कथा छ ।
आउँदो जुन ५ देखि छायांकन हुन लागेको चलचित्रलाई सौरभ लामाले खिच्नेछन् भने निर्देशन निखिल उप्रेतीको नै रहनेछ । मुख्य भूमिका निखिलकै रहने उक्त चलचित्रमा केही भारतीय कलाकारले अभिनय गर्ने पक्कापक्की भएपनि अन्य कलाकारको खोजी भइरहेको बताइएको छ ।
निखिल उप्रेती प्रोडक्सनको व्यानर अनि प्रामा इन्स्टुमेन्टको सहकार्यमा चलचित्र निर्माण हुने भएको हो ।