अमेरिकाको बाइडन प्रशासनले पूर्ववर्ती ट्रम्प प्रशासनको नागरिकता परीक्षाको कठोर प्रावधानलाई परिवर्तन गरेर सन् २००८ को सजिलो प्रावधान पुनः लागू गर्ने घोषणा गरेको छ ।
अमेरिकी नागरिकता तथा आप्रवास सेवा (यूएससीआईएस) ले सोमवार एक प्रेस विज्ञप्ति जारी गरेर नयाँ प्रावधान मार्च १ बाट लागू हुने जानकारी दियो ।
आप्रवासीहरूले अमेरिकाको नागरिकताका लागि आवेदन दिँदा सिभिक्स टेस्ट पास गर्नुपर्ने हुन्छ । त्यसमा अमेरिकाको इतिहास, सिद्धान्त र सरकारी नियमका साथै अन्य आधारभूत कुराको ज्ञान आफूसँग भएको प्रमाणित गर्नुपर्ने हुन्छ ।
ट्रम्प प्रशासनले सिभिक्स टेस्टमा परिवर्तन गर्दै प्रश्न संख्या १०० बाट बढाएर १२८ पुर्याएको थियो । मल्टिपल चोइस प्रश्नमा राजनीतिक र वैचारिक कुरा पनि थिए ।
यसलाई परिवर्तन गर्दै यूएससीआईएसले भन्यो, ‘सन् २००८ को सिभिक्स टेस्ट १५० भन्दा बढी संस्थाको इन्पुटका साथ वर्षौंको मेहनतका साथ तयार पारिएको थियो र लागू गर्नुअघि पाइलट प्रोजेक्टका रूपमा अवलम्बन गरिएको थियो ।
राष्ट्रपति जो बाइडनले यस प्रक्रियालाई सुलभ बनाउनका लागि यसको समीक्षा गर्न अनुरोध गरेका थिए । त्यसपछि यसलाई सरल बनाउने निर्णय लिइएको हो ।