
बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताएका छन् ।
हेटौंडामा भूकम्पका कारण पूर्णरूपमा क्षति भई पुनःनिर्माण हुन लागेको महेन्द्र माध्यमिक विद्यालय पदम पोखरीको २१ कोठे भवन शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले श्रम बजारमा बिक्ने खालको शिक्षामा जोड दिनसके विद्यालयलाई बेरोजगार उत्पादन गर्ने थलोको रूपमा नभइ दक्षजनशक्ति उत्पादन गर्ने थलोको रुपमा बुझाउन सकिने धारणा राखे । विद्यालयले ज्ञानसँगै सीप समेत दिनसक्नुपर्ने उनको भनाइ थियो ।
पौडेलले प्राविधिक शिक्षामा पनि फरकपन दिनसक्नुपर्ने बताए । प्राविधिक शिक्षाको नाममा जहाँ पनि एउटै विषय पढाउनेभन्दा पनि ठाउँ विशेषका आधारमा आवश्यक पर्ने शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए ।
प्राविधिक शिक्षामा जोड दिने विद्यालयलाई प्रदेश सरकारले सहयोग गर्नु पौडेलको भनाइ थियो ।
कार्यक्रममा वाग्मती प्रदेशका प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले पदमपोखरी क्षेत्रको विकासमा प्रदेश सरकार र मुख्यमन्त्री पौडेलले खेलेको भूमिका उल्लेखय रहेको बताए । पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ शिक्षाका प्रमुख बद्रीबहादुर पाठकले जापान सरकारको ऋण सहयोगमा मकवानपुरमा ४१ विद्यालय भवन पुनःनिर्माण भइरहेको बताउँदै अधिकांश भवनको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिए ।
उनले बिहीवारदेखि निर्माण प्रारम्भ भएको २१ कोठे भवन करबाहेक ५ करोड ३५ लाखमा सम्पन्न हुने निर्माण कम्पनी शर्मा जेभीसँग सम्झौता गरिएको बताए ।
सम्झौता अनुसार निर्माण कम्पनीले सन् २०२२ को अगस्ट ५ सम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।