
विश्वकप फुटबल २०२६ अन्तर्गत समूह 'जी' को इरान र न्युजिल्याण्डबीचको खेल सुरु हुनुअघि अमेरिकाको लस एन्जलसस्थित रंगशाला बाहिर इरानी प्रदर्शनकारीहरूले विरोध प्रदर्शन गरेका छन् ।
इरानको वर्तमान सरकार र राष्ट्रिय टोलीलाई 'सत्ताको प्रतिनिधि' को संज्ञा दिँदै इरानी डायस्पोरा (प्रवासीहरू) ले विरोध जनाएका हुन् ।
लस एन्जलसको सोफाइ रंगशाला बाहिर भेला भएका करिब २०० प्रदर्शनकारीहरूले इरानी शासनविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले 'मुल्लाहको टोली हाम्रो टोली होइन' र 'इरानमा शासन परिवर्तन गर' जस्ता नारा लगाएका थिए ।
प्रदर्शनकारीहरूले गत जनवरीमा तेहरानका सडकहरूमा प्रदर्शनकारीहरूको हत्या गरिएको भन्दै त्यसको आक्रोश खेल मैदान बाहिर व्यक्त गरेका हुन् ।
प्रदर्शनका क्रममा इरानको क्रान्तिपूर्वको ऐतिहासिक 'सिंह र सूर्य' अंकित झण्डाहरू फहराइएको थियो । फिफाले यस झण्डालाई राजनीतिक प्रतीक मान्दै रंगशाला भित्र प्रतिबन्ध लगाए पनि प्रदर्शनकारीहरूले यसलाई आफ्नो पहिचान र स्वतन्त्रताको प्रतीक भन्दै प्रयोग गरेका थिए । 'तपाईं लस एन्जलसमा आएर हामीलाई हाम्रो झण्डा फहराउन पाइँदैन भन्न सक्नुहुन्न,' प्रदर्शनकी आयोजक अरेजो रसिदियनले भनिन् ।
इरानी टोलीका प्रमुख स्ट्राइकर मेहदी तारेमीले खेलअघिको पत्रकार सम्मेलनमा राजनीतिक तनावले टोलीलाई प्रभावित पारेको स्वीकार गरेका छन् । यद्यपि, उनले आफूहरूले देश र विदेशमा रहेका सबै इरानीहरूको लागि खेल्ने र राजनीतिमा नफस्ने दाबी गरे ।