
काठमाडौं,७ जेठ- वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना महानगरपालिकाहरुमा जारी छ ।
गाउँपालिका र नगरपालिकाहरुको मत गणना अन्तिममा पुग्दै गर्दा महानगरको भने अझै केही दिन लाग्ने अनुमान गरिएको छ ।
काठमाडौं, ललितपुर, पोखरा र भरतपुरमा जारी मतगणना मध्ये तीन स्थानमा एमालेले अग्रता बनाएको छ भने ललितपुरमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ ।
नेकपा एमालेले काठमाडौं महानगरपालिकामा २५ हजार ३ सय २० मत ल्याएको छ भने नेपाली कांग्रेसले १७ हजार ८ सय ९२ मत पाएका छन् ।
त्यस्तै पोखरा नगरपालिकामा एमालेका उम्मेदवार मानवहादुर जिसी अगाडी छन् उनी नेपाली कांग्रेसका उम्मेदवार रामजी कुँवर भन्दा २ हजार मत अन्तरले अघि छन् तर विवादका कारण हिजो साँझबाट रोकिएको मतगणना पुन सुचारु हुन सकेको छैन ।
त्यस्तै चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका देवी ज्ञवालीले १९ हजार २ सय ९१ मत पाउँदा माओवादी केन्द्रकी रेणु दाहालले १७ लहजार ९ सय ७ मत पाएकी छिन् ।
यता काठमाडौं कै अर्को महानगरपालिका ललितपुरमा भने नेपाली कांग्रेसले अग्रता कायम गरिरहेको छ । नेपाली कांग्रेसका चिरीबाबु महर्जनले १९ हजार ५ सय ५० त्यस्तै एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १६ हजार २ सय ४६ मत पाएका छन् ।