
हात्ती प्रजनन् केन्द्र खोरसोरमा सोमवारदेखि हात्ती उपचार शिविर शुरू भएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले संयुक्त रूपमा शिविर शुरू गरेका हुन् ।
निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठका अनुसार हात्तीलाई जुकाको औषधि खुवाउने, नङ काट्ने, रगतको नमूना लिएर परीक्षण गर्ने, शरीरको बाहिरी अवस्था निरीक्षण गरेर हेर्ने, घाउ खटिरा एवं चोटपटक भएमा उपचार गरिने छ । यस क्रममा हात्तीलाई भिटामिन, मिनिरलसमेत खुवाइँदैछ ।
आउँदो महिनामा हुने गैंडा गणनामा प्रयोग गर्न मिल्ने हात्ती छुट्याउने काम पनि अहिले नै गरिँदैछ । श्रेष्ठले १५ दिन लगाएर सरकारी ५६ र निजी ६० हात्तीलाई प्रत्यक्षरूपमा उपचार गरिने बताए । उनका अनुसार रगतको परीक्षणबाट कुनै रोग देखिएमा तत्काल उपचार प्रक्रिया अघि बढाइने छ ।
शिविरमा निकुञ्ज र कोषका ४ जना प्राविधिकसँगै नङ काट्नका लागि २ जना कर्मचारी परिचालन गरिएको छ । हात्तीको स्याहारमा रहेका कर्मचारी पनि शिविरमा परिचालन गरिने उनले जानकारी दिए । शिविरको शुभारम्भका अवसरमा श्रेष्ठसँगै कोषका प्रमुख डा. बाबुराम लामिछानेसहित प्राविधिक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
प्राकृतिक कारणबाट वैशाखयता चितवन राष्ट्रिय निकुञ्जका ५ वटा र कोषका एउटा हात्ती मरेपछि स्वास्थ्यप्रति संवेदनशील हुँदै शिविर आयोजना गरिएको हो । निकुञ्जको खोरसोरमा २० वटा, सौराहा कार्यालयमा ८, कसरामा ६ हात्ती छन् भने पोस्टमा १ र २ का दरले हात्ती रहेका छन् । यससँगै कोष र निजी क्षेत्रका हात्ती आआफ्ना हात्तीसारमा रहेका छन् ।
मरेका हात्तीमा क्षयरोग समेत देखिएपछि केही समयअघि निकुञ्जका सबै हात्तीको रगतको नमूना संकलन गरेर परीक्षणका लागि राखिएको छ । निकुञ्ज सुरक्षामा हात्ती प्रयोग हुने गरेको छ ।
विगतमा पर्यटक घुमाउन प्रयोग गरिने भए पनि पछिल्ला वर्षमा निजी हात्ती मात्र प्रयोग गरिँदै आएको छ ।