३१ जेठ २०८३, आइतबार

खानेपानीको चरम अभाव रहेको बमालुङ्गामा ‘एक घर एक धारा’ जडान

फागुन १७, २०७७
खानेपानीको चरम अभाव रहेको बमालुङ्गामा ‘एक घर एक धारा’ जडान
प्रतिकात्मक तस्वीर

स्याङ्जाको गल्याङ नगरपालिका–१ स्थित मालुङ्गाका ३९४ घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ ।

लामो समयदेखि खानेपानीको चरम अभाव खेपिरहेका स्थानीयले खानेपानीको धारा घरघरमा जडान भएसँगै राहत महसूस गरेका हुन् । 

‘मालुङ्गा चिदेपानी खानेपानी योजना’ अन्तर्गत गाउँमा खानेपानी वितरण गरिएको गल्याङ नगरपालिका–१ का वडाध्यक्ष गणेश बस्यालले बताए । ‘साविकको मालुङ्गा गाविसका वडा नम्बर १, २, ३ र ४ मा खानेपानीको निकै समस्या थियो,’ वडाध्यक्ष बस्यालले भने, ‘गाउँको पहिलो प्राथमिकतामा परेको खानेपानीको समस्या समाधानका लागि निरन्तरको प्रयासपछि खानेपानीको समस्या हल गर्न सकेका छौं ।’

३ वर्षदेखि निर्माण कार्य थालिएको योजना हालै मात्र ७५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको वडाध्यक्ष बस्यालले बताए ।

राम्दी नजिकै रहेको चिदीपानी मुलबाट झण्डै ३ किलोमिटर दूरीमा पाइपमार्फत कालीगण्डकी नदीको किनार उत्तरबाहिनी (खाडाघाट) मा पानी ल्याई ट्यांकीमा संकलन गरिएको उपभोक्ता समितिका अध्यक्ष नवराज बस्यालले बताए ।

बाक्लो बस्ती रहेको यहाँका स्थानीयले लामो समयदेखि खानेपानीको चरम अभाव झेल्दै आएका थिए । ‘खाडाघाटमा १ लाख लिटरको ट्यांकी निर्माण गरेका छौं, त्यहाँबाट २ चरणमा ५२० मिटर माथि रहेको बजादीमा १ लाख लिटरको ट्यांकीमा पानी जम्मा गरी वितरण गरिएको छ,’ उपभोक्ता समितिका अध्यक्ष बस्यालले भने, ‘गाउँभन्दा तल रहेको कालीगण्डकी नदीमा बगेको पानी हेरेर तिर्खा मेटाउनु पर्ने समस्या अब घरमै पानी आएपछि हल भएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्