ललितपुर, ७ जेठ– ललितपुर महानगरपालिकाको उपमेयरमा सेलरोटी चिन्ह लिएर साझा पार्टीका तर्फबाट स्वतन्त्र उम्मेदवारका रुपमा उठेकी शोभा शाक्य अहिले चर्चित छिन् ।

वैशाख ३१ मा सम्पन्न स्थानीय तहको चुनावको मतगणना जारी रहँदा उनले ललितपुर महानगरपालिकाको उपमेयर पदमा प्राप्त गरिरहेका मत अहिले ठूला पार्टीलाई टाउको दुखाई बनिरहेको छ ।
भर्खरै खुलेको साझा पार्टीबाट उम्मेदवार भएकी शाक्यले उपमेयरमा नेपाली कांग्रेसकी गीता सत्याललाई पछ्याइरहेकी छिन् ।
ललितपुरमा १८ वडासम्मको मतगणना सकिदा उपमेयरमा नेपाली कांग्रेसकी गीता सत्यालभन्दा शाक्य करिब तीन हजार भोटले मात्रै पछि छिन् । सत्यालको भोट १४ हजार ८ सय ६८ छ भने शोभाको ११ हजार ९ भोट छ ।
साझा पार्टीका तर्फबाट उम्मेदवार रहेकी उनले राम्रै मत पाएको भन्दै चर्चा भइरहेको छ ।
उपमेयरमा कांग्रेसकी गीता सत्याललाई चुनौती दिने एकमात्रै उम्मेदवारका रुपमा शोभा अगाडी देखा परेकी छिन् ।
पाटनको ओकुबहालमा जन्मिएकी शोभा समाजसेवी हुन् । ललितपुरमा आफ्नो भारी मत आउनुमा भूकम्पको बेला आफूले गरेको सहयोग नै मुल आधार भएको उनी बताउँछिन् ।
अहिलेसम्म कुनै पार्टीमा नलागेको बताउने शोभाले बैकल्पिक पार्टीका रुपमा साझा पार्टीको तर्फबाट उम्मेदवारी दिएको बताइन् ।

उपमेयरमा सेलरोटीलाई आएको मत देखेर उनी दंग छिन् । ‘साझा पार्टी बाहिर आएको ७ हप्ता पनि भएको थिएन, र तीनहप्ता अगाडि उम्मेदवारी दिएर यति भोट आउनु चानचुने कुरा होइन्,’ उनले भनिन् । स्थानीयमाझ साझा पार्टीलाई चिनाउन समस्या भएको उनले बताइन् ।
‘घर छिमेकमा मलाई चिनेपनि मेरो चुनाव चिन्हलाई चिनाउन मुस्किल भयो,’ उनले भनिन्, ‘स्वतन्त्ररुपमा उम्मेदवार दिएको कारण पहिला नै कुन चुनावचिह्न पर्छ भन्ने यकिन थिएन । त्यसैले चिन्ह लिएर चुनाव प्रचारमा लाग्ने समय पनि कमै भयो ।’
२२ गते निर्वाचन आयोगले दिएको सेलरोटी चिन्ह पाइसकेपछि मात्रै कुन ठाउँमा भोट हाल्ने भनेर जनतामाझ गएकी शाक्यले करिब एक हप्ता मात्र जनतामाझ जान समय पाएकाले मत केही कम आएको बताउँछिन् । तर, यति छोटो समयमै भारी मत ल्याउँदा उनी अहिले असाध्यै खुशी देखिन्छिन् ।
अहिलेसम्म पनि कतिपय मतदाताहरुले आफूलाई चिनेको भएपनि मत संकेत (चुनाव चिह्न) नचिनेका कारण भोट हाल्न नपाएकोमा गुनासो गरिरहेका छन् ।
निर्वाचन शिक्षा प्रभावकारी नभएको र मतदाता मतदान गर्न झुक्किएका कारण आफ्नो १५ प्रतिशत मत बदर भएको उनको दाबी छ ।
पहिलो स्थानमा रहेकी सत्यालको र आफ्नो मतमा खास फरक नभएका कारण आफूले जित्ने शाक्यको दाबी छ ।

व्यापारीक घरानाबाट हुर्केकी उनी पहिलादेखी नै स्थानीय महिलाहरुलाई स्वीटर बुन्नेदेखि विभिन्न रोजगारीमूलक तालिम कार्यक्रम सञ्चालन गरेको उनी बताउँछिन् । अगुवा महिलाका रुपमा स्थानीयमा प्रख्यात छिन् उनी ।
विशेषतः आफू चुनावमा लाग्ने भनेपछि समाजसेवामा सहकार्य गर्दै आएका स्थानीय महिलाको तर्फबाट धेरै सहयोग पाएको उनले बताइन् ।
गाउँमा भूकम्पको बेला गएर सहयोग गरेको दुख परेको बेला राहत दिने तथा खाना खुवाउने काम गरेका कारण पनि स्थानीयले चुनावमा भोट दिएको उनी दाबी गछिन् ।
हारजीत स्वभाविक भन्दै उनले आफूलाई मत दिने मतदाताप्रति धन्यवाद व्यक्त गरिन् ।
पछिल्लो मतगणनामा ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जन १९ हजार ५ सय ५० मतका साथ पहिलो स्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार १६ हजार २ सय ४६ मत पाएका छन् । साझा पार्टीबाट उमेदवार रहेका रमेश महर्जनले १० हजार ३ सय ७४ मत पाएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी गिता सत्यालले १४ हजार ८ सय ६८ मत पाएकी छिन् भने साझा पार्टीका शोभा शाक्यले ११ हजार ९ मत पाएकी छिन् ।
तस्वीर : अशोक महर्जन