
चोरहरूको नजर अब समुद्रमुनि समेत पर्न थालेको छ ।
दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाको समुद्रमा डुबेको एक जहाजमा राखिएको १३१ ग्यालन बीयर चोरहरूले उडाइदिएका छन् ।
बीयरलाई गत नोभेम्बर महिनामा समुद्रमुनि राखिएको थियो । पछि निकालेर महंगोमा बेच्ने उद्देश्य उनीहरूको थियो ।
लगभग एक हजार ग्यालन बीयर अर्जेन्टिनाको तटबाट तीन माइल पर समुद्रमुनि माछा समात्ने जहाजमा राखिएको थियो । अघिल्लो साता गोताखोरहरू बीयरको स्थिति हेर्न जाँदा त्यसमध्ये १३१ ग्यालन बीयर गायब भएको पाए ।
चोरी भएको बीयर तीन स्थानीय बीयर कम्पनीहरूको थियो । ती कम्पनीहरूले पोहोर साल गोताखोरहरू नियुक्त गरेर बीयरलाई समुद्रमुनि राखेका थिए ।
बीयरलाई सोभियत संघको समयमा बनाइएको जहाज क्रोनोमेथेरमा राखिएको थियो । सोभियत संघ विघटन भएपछि त्यसलाई अर्जेन्टिनामै छोडिएको थियोे ।
सन् २०१४ देखि बीयर कम्पनीहरूले त्यहाँ बीयर राख्न थालेका थिए । तर अब चोरहरूको बिगबिगी भएपछि सुरक्षा प्रबन्ध बलियो बनाउनुपर्ने भएको छ ।