भारतमा सोमवारदेखि वृद्ध र रोगी मानिसका लागि खोप कार्यक्रम शुरू गरिएको छ ।
सोमवार बिहानै प्रधानमन्त्री नरेन्द्र मोदीले एम्स अस्पताल पुगेर कोरोनाको खोप लगाए अनि त्यसको तस्वीर ट्वीट गरेर देशवासीहरूलाई खोप लगाउन अपील गरे ।
मोदीलाई खोप लगाउने नर्स पुडुचेरीकी हुन् भन्ने थाहा पाएपछि उनले तमिलमा कुरा गर्ने कोशिश गरे ।
मोदीलाई खोप लगाउनका लागि खटिएको टोली नर्भस थियो तर उनले टोलीलाई आश्वस्त पारे ।
नर्सलाई सहज बनाउन उनले जिस्कँदै भने, ‘पशुलाई हान्ने सुई लगाउन लागेको त हैन ?’
पहिला त मोदीको कुरा नर्सले बुझिनन् ।
त्यसपछि मोदीले भने, ‘नेताहरूको छाला निकै मोटो हुन्छ । उनीहरूका लागि विशेष मोटो सुईको प्रयोग गर्न लाग्नुभएको त छैन नि ?’
यो सुनेर नर्स हाँसिन् ।
मोदीले कोभ्याक्सिनको डोज लिनुअघि कन्सर्न फर्म भरेका थिए किनकि यसको ट्रायल पूरा भएको छैन । फर्म भरेपछि भारतीय समयअनुसार ६ बजेर २५ मिनेटमा मोदीलाई खोपको पहिलो शट सिस्टर निवेदाले लगाएकी हुन् ।
त्यसको आधा घन्टासम्म मोदी एम्समै अब्जर्भेसनमा बसे । त्यसक्रममा एम्सका निर्देशक डा रणदीप गुलेरिया पनि उपस्थित थिए ।