०५ साउन २०८३, मंगलबार

सरकारी उच्चस्तरीय टोलीले गर्‍यो अरुण-३ जलविद्युत परियोजना निरीक्षण

फागुन २०, २०७७
सरकारी उच्चस्तरीय टोलीले गर्‍यो अरुण-३ जलविद्युत परियोजना निरीक्षण

लगानी बोर्डको पहलमा सरकारका उच्च अधिकारीहरुको टोलीले निर्माणाधीन अरुण ३ जलविद्युत परियोजनाको निरीक्षण गरेको छ ।

टोलीले बुधवार परियोजनाको अवलोकन गर्दै टोलीले परियोजना कार्यान्वयनमा देखिएका समस्याहरुबारे स्थानीय सरोकारवालाहरुसँग छलफल समेत गरेको हो । 

उक्त टोलीले संखुवासभाको मकालु गाउँपालिकास्थित फाक्सिन्दा दोभानको परियोजना बाँध निर्माणस्थल तथा चिचिला गाउँपालिकास्थित दिदिङ्गको विद्युतगृह निर्माण कार्यको अवलोकन गरेको थियो । 

साथै, उक्त टोलीले परियोजना विकासकर्ता कम्पनीका पदाधिकारी तथा चिचिला गाउँपालिका र मकालु गाउँपालिकाका अध्यक्ष लगायत स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन तथा अन्य सरोकारवालाहरुसँग पनि छलफल गरेको थियो । 

उक्त टोलीमा गृहसचिव महेश्वर न्यौपाने, रक्षा सचिव रेश्मिराज पाण्डे, परराष्ट्र सचिव भरतराज पौड्याल, उर्जा सचिव दिनेश घिमिरे,  लगानी बोर्ड कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट,  बोर्ड कार्यालयका उपसचिव रमेश अधिकारी, बोर्ड कार्यालयका सिनियर डिभिजनल इन्जिनियर सागरराज गौतम लगायतको सहभागिता थियो । 

सार्वजनिक-निजी साझेदारीमा कार्यान्वयन भइरहेको ९०० मेगावाट क्षमताको उक्त परियोजना निर्माणको करीब ४० प्रतिशत काम सम्पन्न भैसकेको छ । परियोजना विकासकर्ता कम्पनीले निर्धारित समयभन्दा करिब डेढ बर्ष अगावै परियोजना निर्माण कार्य सम्पन्न गर्ने जानकारी दिएको छ । 

कमेन्ट गर्नुहोस्