०५ असार २०८३, शुक्रबार

तनहुँको सेवरमा औषधि उत्पादन गर्न संरचना निर्माण गरिँदै

फागुन २०, २०७७
तनहुँको सेवरमा औषधि उत्पादन गर्न संरचना निर्माण गरिँदै
प्रतिकात्मक तस्वीर

तनहुँ जिल्लाको व्यास नगरपालिका–१० स्थित सेवरमा पोखरा फर्मास्युटिकल प्रालिले औषधि उत्पादन गर्ने उद्देश्यले भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिएको छ ।

कोभिड–१९ का कारण निर्माण कार्यमा प्रभाव परेपछि आगामी असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको हो । 

करीब ४५ रोपनी क्षेत्रफलमध्ये १२ रोपनीमा भवन निर्माण गरिएको फर्मास्युटिकलका प्रबन्ध निर्देशक इन्द्र बानियाँले जानकारी दिए ।

भवनको ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । उनले भने, ‘भवन निर्माणपश्चात् करीब ९ महिनापछि औषधि बजारमा पुर्‍याउने योजना रहेको छ ।’

करीब ५० करोड रुपैयाँ बराबरको लगानीमा भौतिक संरचनाको निर्माण कार्य भइरहेको छ । उनले भने, ‘भूइँ तलामा औषधि उत्पादन गरिन्छ भने पहिलो तलामा ल्याब, औषधि अनुसन्धान केन्द्र लगायतका रहने छन् ।’

उनका अनुसार भूइँ तला २० हजार वर्गफिट र पहिलो तला ११ हजार वर्गफिटको हुनेछ । 

‘शुरूको वर्षमा मधुमेह, मुटु, नसा सम्बन्धीका ट्याबलेट, क्याप्सुल र मलमजन्य ४०–५० किसिमका औषधि उत्पादन गर्ने लक्ष्य रहेको छ,’ उनले भने । औषधि विज्ञद्वारा औषधि उत्पादन क्षेत्रमा लगानी गरिएकाले गुणस्तर किसिमको औषधि उत्पादन हुनुका साथै सरल, सहज र सुपथ मूल्यमा बजारमा पुर्‍याइने उनको भनाइ छ ।

नेपालमा उत्पादन नभएका नयाँनयाँ किसिमका औषधि उत्पादन गर्ने योजना कम्पनीको रहेको छ । उद्योगमा औषधि उत्पादन कार्य शुरू हुन थालेपछि बजार प्रतिनिधिसहित १०० जनाको हाराहारीमा मानिसलाई रोजगारी दिन सकिने सो कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्