लोकतन्त्रका समर्थकहरूको निर्मम दमन गर्ने म्यान्मारको सेनाको वीभत्स अनुहार बुधवार देखिएको छ ।
सेनाले देशभरि चरम दमन गर्दै ३३ जना लोकतन्त्र समर्थकको हत्या गरेको छ । त्यसपछि आइतवार सेनाले १८ जनालाई मारेको थियो ।
बुधवार मान्डलेमा सेनाविरुद्ध प्रदर्शन गरिरहेकी १९ वर्षीया एन्जल पनि सुरक्षाकर्मीको गोलीको शिकार बनिन् । उनको तस्वीरले संसारभरिका मानिसलाई स्तब्ध बनाएको छ ।
एन्जलले मान्डलेमा प्रदर्शन गर्दा उनको टीशर्टमा ‘सबै कुरा ठीक हुनेछ’ लेखिएको थियो । देशको शक्तिशाली सेनालाई चुनौती दिँदा आफूलाई केही खराब हुन सक्ने उनको आशंका थियो ।
एन्जलले खल्तीमा एउटा कागजको टुक्रो राखेकी थिइन् जसमा उनको ब्लड ग्रूप र सम्पर्क नम्बर राखिएको थियो ।
एक अनुरोध पनि त्यसमा थियो, ‘मेरो मृत्यु भएमा मेरो शरीर दान गरिदिनू ।’
बुधवार मान्डलेमा म्यान्मारी सेनाले ताण्डव मच्चायो र एन्जललाई गोली हानेर हत्या गर्यो ।
लोकतन्त्रका लागि उनले ज्यानको बलिदान दिएकोमा प्रशंसा भइरहेको छ ।
मान्डलेमा सुरक्षाकर्मीले गोली चलाउँदा एन्जलले त्यहाँ उपस्थित मानिसहरूलाई बस्न आग्रह गरेकी थिइन् तर उनलाई नै गोली प्रहार गरियो ।
गत फेब्रुअरी १ मा सेनाले कू गरेदेखि प्रदर्शनकारीहरू निरन्तर सडकमा छन् । आङ सान सू ची समेत अन्य नेतालाई हिरासतमुक्त गर्नका लागि उनीहरूले माग गरिरहेका छन् ।
विभिन्न शहरमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि दमन गरेको तस्वीर र भिडियोहरू सार्वजनिक भएका छन् ।