
कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताएकी छन् ।
आज (बिहिवार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । ‘हामीलाई शंका थियो । हामीले यसमा सफलता प्राप्त ग¥यौं । मलको अभावमा उत्पादन घट्ने र किसान एवं सिंगो मुलुक मर्कामा पर्ने अवस्थाको अन्त्य गरेका छौ,' मन्त्री अर्यालले भनिन् ।
तत्कालीन समाधानको रुपमा अहिले गरिएको व्यवस्थापन, मध्यकालिन समाधानको रूपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपूर्ति र दीर्घकालीन समाधाका लागि मल उत्पादन गर्ने कारखाना स्थापना गर्नेगरी मन्त्रालय अगाडी बढेको उनले बताइन् ।
मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मलको भण्डारणको व्यवस्था गरिने उनको भनाइ छ । अनुमानको आधारमा मलको आपूर्ति नभए तथ्य र आवश्यकताका आधारमा गर्नेगरी सबै प्रदेशसँग त्यहाँको आवश्यकता माग गरिएको उनले बताइन् ।
उनले भनिन्, 'मलको आपूर्ति अनुमानको आधारमा होइन तथ्य र आवश्यकताको आधारमा गर्नेगरी त्यहाँको प्रदेशहरुसँग आवश्यकता कति हो भन्ने माग गरिएको छ । त्यसको आधारमा प्रबन्ध गरिनेछ ।’
यस आर्थिक वर्षमा व्यवस्था गरिएको ११ अर्ब बजेट मध्येबाट ५ लाख मेट्रिक टन (युरिया मल २ लाख ८२ हजार ५ सय, डिएपी २ लाख २ हजार ५ सय र पोटास १५ हजार) आयात गर्ने रहेको मन्त्री अर्यालले बताइन् ।
जसमध्ये यस आर्थिक वर्षमा १ लाख ८७ हजार मेट्रिक टन मल बिक्री भइ सकेको छ भने १ लाख ६२ हजार मेट्रिक टन स्टक र नेपाल भित्रिने क्रममा रहेको छ । गत वर्ष जम्मा ३ लाख ९४ हजार ६ सय मेट्रिक टन मल विक्रि भएको थियो ।
यस आबको आयातबाट जम्मा २ लाख मेट्रिक टन मल आगामी धान सिजनका लागि मौज्दात (बफर स्टक) रहने देखिन्छ । पछिल्ला ३ वर्षहरुको बिक्रीको आधारमा साउनदेखि असोजसम्म जम्मा १ लाख ३ हजार मेट्रिक टन मल खपत हुने अनुमान गरिएको छ ।
जुन यस आर्थिक वर्षकै बाँकी मलबाट पूर्ति हुने देखिन्छ । आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनेगरी प्रथम चौमासिक अवधीमा करिब ३ लाख मेट्रिक टन मल आपुर्तीको लागि यहि महिनाबाट आयात प्रक्रिया शुरु गरिने मन्त्री अर्यालले बताइन् ।