१७ असार २०८३, बुधबार

युधिष्ठिर एक्लै भएको क्षण सम्झिँदै ओलीले भने– हामी एक जना ढले हजार भएर निस्किन्छौं

फागुन २०, २०७७
युधिष्ठिर एक्लै भएको क्षण सम्झिँदै ओलीले भने– हामी एक जना ढले हजार भएर निस्किन्छौं
फाइल फोटो

प्रधानमन्त्री एवं नेकपा (ओली समूह)का अध्यक्ष केपी शर्मा ओलीले केही नेता पार्टीबाट बाहिरिँदैमा चिन्ता गर्नु नपर्ने बताएका छन् ।

बिहीवार सिन्धुलीमा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पिलो निचोरिएर जाँदैमा चिन्ता गर्नु नपर्ने बताएका हुन् ।

समृद्धिको अभियान झन् बलियो हुने उनको दाबी छ ।

‘हामीले हुर्काएको विरुवालाई कहिले हावाहुरीले हाँगा भाचिदिन्छ, फेरि पलाउँछ,’ उनले भने, ‘तपाईंहरूले सुन्नुभएको होला – स्वर्गतिर हिँड्दाखेरि युधिष्ठिरहरू हिमालतिर लागेछन् । पहिला शहदेव ढल्यो, अर्काे नहकुल ढल्यो, अर्काे अर्जुन ढल्यो, अर्काे भीम ढल्यो, त्यसपछि युधिष्ठिर एक्लै भए, कहिले–कहिले एक्लै हुनुपर्छ ।’

राजनीतिमा एउटा ढल्यो भने सय र हजारवटा भएर निस्किने प्रधानमन्त्री ओलीले बताए ।

‘एउटा विरुवा ढल्यो भने हजारौं विरुवा भएर निस्किन्छौं । कलाकार जीवन शर्माको एउटा गीत छ – पिलो निचोरिँदैमा ओजन घटेको हुन्न । केही–केही पिलो निचोरिएर जान्छन्, चिन्ता गर्नु पर्दैन,’ उनले भने ।

प्रधानमन्त्री ओलीले ज्येष्ठ नागरिक (वृद्धभत्ता) लगायत लक्षित वर्गले पाइरहेको सामाजिक सुरक्षा भत्ता केही समयभित्रै ५ हजार पुर्‍याइने बताए ।

उनले मासिक १ सयबाट शुरू भएको वृद्धभत्ता अहिले मासिक ३ हजार पुगेको बताए ।

ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति लगायतलाई सरकारले हेरिरहेको बताए । लक्षित वर्गलाई १ लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बिमा पनि गरिएको उनले जानकारी दिए ।

बिहीवार शिलान्यास गरिएको आयोजना सम्पन्न भएपछि तराईका जिल्लामा १ लाख २२ हजार बिघा जमिनमा सिँचाइ र ३१ मेगावाट विद्युत् उत्पादन हुने प्रधानमन्त्री ओलीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्