३१ जेठ २०८३, आइतबार

नेकपा प्रचण्ड-नेपाल समूहले प्रचण्डलाई बनायो संसदीय दलको नेता

फागुन २१, २०७७
नेकपा प्रचण्ड-नेपाल समूहले प्रचण्डलाई बनायो संसदीय दलको नेता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई संसदीय दलको नेता चयन गरेको छ ।

सिंहदरबारमा शुक्रवार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेतामा चयन गरेको हो । बैठकको अध्यक्षता जेष्ठ सदस्यको हैसियतमा वरिष्ठ नेता झलनाथ खनालले गरेका थिए ।

प्रचण्डलाई सर्वसम्मतरूपमा दलको नेता चयन गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले ट्वीटमार्फत जानकारी दिए ।

'हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को संसदीय दलको बैठक आज सिंहदरबारमा बस्यो । दलको कुल सदस्य संख्याको बहुमत उपस्थित बैठकले पार्टीको सधारण सदस्यबाट समेत निष्कासित केपी ओली दल नेता स्वतः नरहेको निर्णय गर्दै क. पुष्पकमल दाहाललाई सर्वसम्मतिले दलको नेता चयन गरेको छ,' श्रेष्ठले ट्विटरमा लेखेका छन् ।

यसअघि हिजो मात्र प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट हटाइसकिएकाले उनी संसदीय दलको नेतामा कायम नरहेको पत्र संसद् सचिवालयलाई बुझाएको थियो ।

नेकपा सांसद यज्ञराज सुनुवारले पनि प्रचण्डलाई दलको नेता सर्वसम्मत चयन गर्ने निर्णय भएको जानकारी दिए ।

‘केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी सदस्यबाट निस्कासन गरिसकेको अवस्थामा पार्टी सदस्य नरहेको व्यक्ति संसदीय दलको नेता हुन नसक्ने भएकोले प्रचण्डलाई दलको नेता बनायौं,’ सुनुवारले लोकान्तरसँग भने । 

यसअघि पुस ७ गते बसेको प्रचण्ड-नेपाल पक्षीय सांसदहरूको भेलाले प्रचण्डलाई दलको नेता बनाएको थियो ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनपछिका संसदीय गतिविधिलाई शून्यतामा परिणत गरेको भन्दै प्रचण्ड-नेपाल समूहले फेरि प्रचण्डलाई दलको नेतामा चयन गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्