काठमाडौं, ८ बैशाख – चलचित्र पत्रकारिता दिवसको अवसर पारेर चलचित्र पत्रकार संघ, काठमाडौंले आफ्नो १८ औं वार्षिक उत्सव मनाएको छ । साथै सोही अवसर पारेर चलचित्र पत्रकारितामा सक्रिय चार पत्रकारलाई सम्मान पनि गरेको हो ।

सिने जगतमा लामो सयम रही योगदान पुर्याएको भन्दै वरिष्ठ पत्रकार डा. नवराज लम्साललाई 'राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७३' बाट सम्मानित गरियो । लम्साल नेपाल बाहिर भएकाले उक्त सम्मान भने उनकी श्रीमतीले ग्रहण गरेकी थिइन् ।
त्यस्तै यस वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकार विजय सुवेदी 'आवाज' र पारस पौडेल पनि सम्मानित भए । नगद रु. २१ हजारसहित ट्रफी र सम्मानपत्रले पौडेल र सुवेदीलाई सम्मान गरियो । साथै नयाँलाई सम्मान र हौसला पुगोस् भन्ने हेतुले पत्रकार स्वेच्छा राउतलाई यो वर्षको प्रोत्साहन पुरस्कार प्रदान गरियो ।
काठमाडौंमा सम्पन्न उक्त कार्यक्रममा अभिनेता हरिवंश आचार्य, निखिल उप्रेती, निर्देशक सुदर्शन थापा, पूजा शर्मा लगायतका कलाकारको समेत उपस्थिति थियो ।