
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरू अनौपचारिक भेलामा जुटेका छन् ।
गोप्य र अनौपचारिक भनिएको भेला नयाँबानेश्वरको एक होटेलमा चलिरहेको छ ।
नयाँ रणनीति तय गर्न भन्दै बिहीवार मध्याह्न १२ बजेदेखि अनौपचारिक छलफल शुरू भएको हो ।
बुधवार साँझ केन्द्रीय सदस्यहरू भेला भएका थिए । केन्द्रीय सदस्यको भेलामा नेता नेपालले आवश्यक परे समानान्तर कमिटी बनाएर अघि बढ्नुपर्ने ब्रिफिङ गरेका थिए ।
सर्वोच्च अदालतले नेकपाको नाम विवादमा फैसला सुनाउँदै साविकका एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो ।
नेकपाभित्रको शक्तिसंघर्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर अघि बढेका नेता नेपाल र खनालले एमाले ब्युँतिएपछि प्रचण्डको साथ छाडेका छन् ।
एमालेमै रहेर ओलीविरुद्ध संघर्ष गर्ने रणनीति खनाल–नेपाल समूहले बनाएको छ ।