२५ जेठ २०८३, सोमबार

डोजर आतंक प्रकरण: जिउँदै पुरिएकी सरस्वतीको परिवारलाई २५ लाख क्षतिपूर्ति र छोरालाई जागिर

फागुन २७, २०७७
डोजर आतंक प्रकरण: जिउँदै पुरिएकी सरस्वतीको परिवारलाई २५ लाख क्षतिपूर्ति र छोरालाई जागिर

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– १ सल्यानटारकी सरस्वती कुमालको परिवारले २५ लाख रुपैयाँ क्षतिपूर्ति र गाउँपालिकामा रोजगारी पाउने भएका छन् । 

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाका अनुसार कानूनबमोजिम पाउने ५ लाख, सडक आयोजनका तर्फबाट १० लाख र डोजर साहुबाट १० लाख गरी २५ लाख र गाउँपालिकाले सरस्वतीका छोरालाई रोजगारी दिने भएको हो । 

‘परिवारसँग भएको छलफलमा गाउँपालिकामा रोजगारी र आयोजना तथा डोजर साहुका तर्फबाट पनि १०/१० लाख रुपैयाँ दिने सहमति भएको थियो उहाँहरू मान्नुभएको छ,’ अध्यक्ष थापाले लोकान्तरसँग भने, ‘फरार रहेका ड्राइभरको खोजीका लागि पनि हामीले प्रहरी प्रशासनलाई दबाब दिइरहेका छौं ।’

के थियो घटना ? 

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारमा गोरखा जाने सडक विस्तारको काम चलिरहेको थियो । 

सोमवार (फागुन १७) गते दिउँसो स्थानिय सरस्वती कुमाल त्यहाँ बाटो हुँदै डोकोमा घाँस बोकेर आउँदै थिइन् ।  

सल्यानटारको छेउमा पानीको इनार भएको र छहारी पनि भएकाले उनले त्यहाँ घाँस बिसाएर बस्ने क्रममा माथि सडक बनाइरहेको जेसीबीले उनलाई घाइते बनाएको हुन सक्ने त्रिपुरा सुन्दरी गाउँपालिकाकी उपाध्यक्ष देवीकुमारी पाण्डे बुर्लाकोटीले लोकान्तरसँग बताइन् ।

त्यसपछि सल्यान घर भएका जेसीबीका ड्राइभर विनोद (बोलाउने नाम)ले उनलाई खाल्टो खनेर पुरिदिए । उनी त्यहाँबाट जेसीबीको नम्बर प्लेटसमेत लिएर फरार भए । 

‘शरीरमा घाउ र घटनास्थलमा शरीरका केही अंश देखिन्थे,’ उपाध्यक्ष बुर्लाकोटीले लोकान्तरसँग भनिन्, ‘उनलाई जेसीबी ड्राइभरले डोकोसहित पुरेको देखियो ।’

सडकमा काम गर्ने कामदारले जेसीबी ड्राइभरले मान्छे पुरेर भाग्यो रे भनेपछि स्थानीयले सोधखोज गरेका थिए । 

स्थानीयले खबर गरेपछि सल्यानटार प्रहरी चौकीबाट प्रहरी पनि पुगे ।

शंंकास्पद ठाउँ खोतल्दा सरस्वतीको शव भेटिएको बुर्लाकोटीले बताइन् ।

त्यसपछि आक्रोशित स्थानीय जेसीबीमा आगजनी गरेका थिए ।

प्रहरीले घटना भवितव्य भएको हुन सक्ने बताएको छ । 

जेसीबी ड्राइभर फरार रहेकाले घटना के कसरी ? घटाइएको भन्ने एकिन हुन सकेको छैन ।

‘अहिले ड्राइभर फरार छ, कसरी घटना घट्यो भन्ने पत्ता लागेको छैन,’ जिल्ला प्रहरी कार्यालय धादिङका एसपी महेन्द्र खड्काले भने, ‘उनलाई पक्राउ गरेपछि सबै कुरा खुल्ला ।’

सरस्वतीको शव बुझेर परिवारले अन्तिम संस्कार गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्