१५ असार २०८३, सोमबार

क्वाड मुलुकका प्रमुखहरूको भर्चुअल बैठक आज, चीनलाई कत्तिको चासो ?

फागुन २८, २०७७
क्वाड मुलुकका प्रमुखहरूको भर्चुअल बैठक आज, चीनलाई कत्तिको चासो ?

अमेरिकाका राष्ट्रपति जो बाइडनको प्रशासन हिन्द–प्रशान्त क्षेत्रमा चीनका भूभागीय दाबीलाई निरस्त गर्नका लागि साझेदारहरूलाई एकताबद्ध गराउने उद्देश्यका साथ ह्वाइट हाउस प्रवेश गरेको हो । 

शुक्रवार बाइडनले उक्त लक्ष्यप्राप्तितर्फ सबभन्दा ठूलो कदम चाल्न लागेका छन् । अमेरिका, जापान, भारत र अस्ट्रेलियाको साझेदारीका लागि बनेको क्वाडका नेताहरूको भर्चुअल बैठक आज बस्दैछ । बेइजिङले यसलाई विषालु शीतयुद्धकालीन मानसिकता भनेको छ । 
 

वाशिङटनले कोभिड–१९, आर्थिक सहकार्य तथा जलवायु संकट यस बैठकमा छलफल गरिने जनाएको छ । नयाँ दिल्लीले चाहिँ प्रधानमन्त्री नरेन्द्र मोदीले बाइडन, जापानका प्रधानमन्त्री योशिहिदे सुगा र अस्ट्रेलियाका प्रधानमन्त्री स्टक मोरिसनसँग ‘स्वतन्त्र तथा खुला हिन्द–प्रशान्त’ का विषयमा कुरा गर्ने जनाएको छ । 

यी बयानहरूमा चीनको कुनै पनि उल्लेख छैन । तर चीनको आर्थिक तथा सैन्यशक्तिमा वृद्धि भएपछि सन् २०१७ मा क्वाडलाई पुनर्जागृत गरिएको हो । बेइजिङको शक्तिप्रदर्शनले नै क्वाडका चार नेतालाई बैठकमा बस्न प्रेरित गरेको हो । 
 

क्वाड्रिल्याटरल सेक्युरिटी डायलोग अनौपचारिक रणनीतिक मञ्च हो । यसमा अर्धनियमित शिखर सम्मेलन, सूचना आदानप्रदान तथा सैन्य अभ्यास हुने गरेका छन् । नर्थ एटलान्टिक ट्रीटी अर्गनाइजेसन (नेटो) जस्तो औपचारिक सैन्य साझेदारी नभए पनि एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभाव तथा कथित आक्रामकतालाई सन्तुलन गर्न यो ल्याइएको केहीको मत छ । 

यसका सदस्यहरूले कोरोनाभाइरसविरुद्धको सहकार्य जस्ता हानिरहित सम्बन्धमा जोड दिइरहेको भए पनि क्वाड मुलुकहरूले सैन्य घेराबन्दी गर्ने सम्भाव्यतालाई बेइजिङले विचार गरिरहेको छ । 

अमेरिकी जलसेना प्रमुख एडमिरल फिलिप डेभिडसन अमेरिकी सेनाको हिन्द–प्रशान्त कमान्ड प्रमुख हुन् र उनले मंगलवार क्वाडलाई ‘लोकतन्त्रहरूको हीरा’ भनेका छन् । 

यो संगठनलाई थप विशाल बनाइने अपेक्षा गरेको पनि उनले बताए । 

‘सुरक्षाका लागि मात्र नभई हामीले विश्वव्यापी अर्थतन्त्र, टेलिकम्युनिकेसन्स तथा ५जी जस्ता महत्त्वपूर्ण प्रविधि, अन्तर्राष्ट्रिय व्यवस्थामा सहकार्यमा पनि समान दृष्टिकोण राख्छौं । यसलाई कूटनीतिक तथा आर्थिक रूपमा अघि बढाउनुपर्छ,’ उनको भनाइ छ ।
 

क्वाडका चार महत्त्वपूर्ण क्षेत्र
फरेन पोलिसी पत्रिकामा यसै साता स्ट्यानफोर्ड विश्वविद्यालयमा रहेको हूभर इन्स्टिच्युसनका चार फेलोहरूले क्वाड चार महत्त्वपूर्ण क्षेत्रमा भूमिका निर्वाह गर्न सक्ने लेखे । ती हुन्– जलक्षेत्रीय सुरक्षा, आपूर्ति शृंखला सुरक्षा, प्रविधि तथा कूटनीति । 
 

जलक्षेत्रीय सुरक्षाको सवालमा क्वाड सदस्यहरूले उल्लेख्य रूपमा जलसैन्य सहयोगमार्फत अमेरिकी जलसेनालाई चीनको जहाजनिर्माण प्रक्रियालाई काउन्टर दिन सक्नेछन् । उदाहरणका लागि, भारतसँग विमानवाहक युद्धपोत छ अनि जापानसँग गुणस्तरीय डिस्ट्रोयर र पनडुब्बीहरू छन् । 

आपूर्ति सुरक्षाको कुरा गर्दा हूभरका फेलोहरू तर्क गर्छन्– क्वाडका चार ठूला अर्थतन्त्रको औद्योगिक तथा उत्पादन बेसलाई उपयोग गरी स्वास्थ्य सामग्री तथा औषधिमा चीनले लिएको अग्रतालाई अन्त्य गर्न सकिन्छ । 

प्रविधिमा क्वाड सदस्यहरूले सूचना सुरक्षाका लागि स्रोत परिचालन गर्नुपर्छ तथा सुरक्षा जोखिम हुने चिनियाँ हार्डवेयर वा सफ्टवेयर आवश्यक नपर्ने नयाँ प्रणाली विकसित गर्नुपर्ने हुन्छ । 

अनि कूटनीतिमा हूभर फेलोहरूले जापान, भारत तथा अस्ट्रेलियाले हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकाको भन्दा थप प्रभाव बढाउनुपर्ने र अन्य मुलुकसँग गहिरो सम्बन्ध बनाउनुपर्ने बताएका छन् । 

तर यी कुनै पनि कुरा हुने ग्यारेन्टी छैन । क्वाडको पहिलो संस्करण चीनको दबाबमा कमजोर बनेको थियो । चीनले यो संगठन आफूलाई घेराबन्दी गर्ने प्रयास भन्दै आर्थिक प्रतिशोध लिने सम्भावना देखाएपछि अमेरिकाका तीन साझेदारहरूले कठोर अडान लिन चाहेनन् । 
 

क्वाडले चीनलाई नियन्त्रणमा लिन खोजे बेइजिङबाट प्रतिशोधको अपेक्षा गर्न सकिन्छ, विज्ञहरू बताउँछन् । 

बेइजिङका लागि सहजता
आरएएन्ड संस्थाका विश्लेषक टिमोथी हीथले क्वाड एकताबद्ध मोर्चा नबनिसकेको बताए । सदस्यहरूबीचको टकराव चीनका लागि सहजता हुन सक्ने उनले बताए । 

‘यो अनौपचारिक भेला मात्र हो र यसको खासै संस्थागत मेरुदण्ड छैन । यस अर्थमा क्वाड एसियाली नेटो पटक्कै हैन,’ उनले भने ।

‘क्वाडका सदस्यहरूले चीनका विषयमा साझा चिन्ता लिएका होलान् र नियममा आधारित व्यवस्थालाई पालन गराउन चाहेका होलान् तर चीनलाई के गर्ने भन्ने विषयमा उनीहरूबीच सर्वसम्मति छैन । सदस्यहरूको प्राथमिकता नै फरक छ । भारत हिन्द महासागरमा जोड दिन्छ भने अस्ट्रेलिया र जापान दक्षिण चीन सागरका विषयमा बढी चिन्तित छन्,’ हीथले बताए । 

‘चीनले अन्य मुलुकहरूविरुद्ध सैन्य आक्रामकता बढाएमा क्वाड थप सशक्त सैन्य साझेदारी बन्न सक्छ,’ हीथको भनाइ छ ।

तर चीनले भिडन्त नगरेसम्म यो सम्भाव्यता खासै नरहने विज्ञहरूको विश्वास छ । चिनियाँ अधिकारीहरू पनि यस्तै धारणा राख्छन् । 

चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले क्वाडलाई कोरा गफ गर्ने क्लब भनेको छ । उसका अनुसार, यस समूहको संरचना फितलो र प्रतीकात्मक छ र यसको कुनै परिणाम आउँदैन ।

सीएनएन डट्कममा प्रकाशित ब्राड लेन्डनको रिपोर्टलाई लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्