
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा भएको परिवर्तन र व्यवस्थालाई उल्टाउने षड्यन्त्र भए रंगीन क्रान्ति गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । आफूले भन्ने गरेको ग्रीन रिभोल्युसन हिंसात्मक विद्रोह नभएको उनले बताए ।
रुपन्देहीको बुटवलमा शुक्रवार राष्ट्रिय दलित पत्रकार संघको प्रथम अधिवेशनको उद्घाटन गर्दै प्रचण्डले गणतन्त्र, समानुपातिक समावेशिता जस्ता विषय उल्ट्याउने षड्यन्त्र भए आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने बताए ।
‘हामीले लडेर स्थापित गरेका उपलब्धि उल्ट्याउने प्रयत्न कसैले गरे आन्दोलन गर्नुपर्छ, फेरि विद्रोह गर्ने हिंसामा जाने कुरा गरेको होइन । संविधान र अहिलेको समावेशिता सिध्याउने काम भएमा शान्तिपूर्ण क्रान्ति, रंगीन क्रान्ति जो समाजको हरेक तप्का आउने यो प्रक्रिया विश्वव्यापी रूपमा देखा परेको छ, त्यो हुनसक्छ’ प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले परिवर्तनलाई उल्ट्याउने, गणतन्त्र उल्टाउने र दलितहरूले प्राप्त गरेका अधिकार उल्ट्याउने षडयन्त्र शुरू भएको दाबी गरे । ‘नेताहरूलाई घेराबन्दी गर्ने प्रयास भइरहेको छ, साँच्चै ठूलो षड्यन्त्र छ । सबभन्दा बढी घेराबन्दी म माथि भएको धेरै गहिरो गरी अनुभव भइरहेको छ । देशभित्रका प्रतिक्रियावादी गणतन्त्र र समावेशी समानुपातिक मन नपराउनेहरू सबै मिलेर यसलाई उल्ट्याइ छाड्ने कसरतमा छन्,’ प्रचण्डले भने ।
प्रचण्डले देशमा अनौठो स्थिति देखा परेको र अझै अस्वाभाविक घटना देख्नुपर्ने हुनसक्ने टिप्पणी गरे ।
‘प्रतिनिधि सभा विघटन बदर भएपछि पनि अब रिल्याक्स गरे हुन्छ भन्ने स्थिति छैन । अनौठो–अनौठो परिस्थिति देखा परेको छ । जन्मिसकेको बच्चालाई फेरि आमाको गर्भमा लगिदिने जस्तो बढो अनौठो र अस्वाभाविक परिघटना हिजोआज देख्नुपरेको छ । त्यस्तो हुन्छ ? हुनै नसक्ने कुरा पनि हुन थालेको छ भनेपछि केही अनिष्ट हुँदैछ कि देशमा भन्ने कुराको संकेत होइन र यो ? जन्मेको बच्चालाई फेरि भित्र लगिदिने भनेको के हो यो ? हेर्दै जाऊँ अझै केही अस्वाभाविक घटना देख्नुपर्ने हो,’ प्रचण्डले भने ।