
सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताइदिएपछि पहिलोपटक भेटवार्ताका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र प्रभावशाली नेता माधव नेपाल केन्द्रीय कार्यालय धुम्बाराही पुगेका छन् ।
नेता नेपाल पुगेको करीब १५ मिनेटपछि प्रधानमन्त्री ओली धुम्बाराही पुगेका हुन् । नेता नेपालले आफूपक्षीय दोस्रो तहका नेतहरूलाई पनि धुम्बाराही लगेका छन् ।
भेटका लागि नेपाल पक्षबाट नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त लगायत धुम्बाराही पुगेका छन् ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पक्षबाट भने अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली लगायत नेता पुगेका छन् ।
सर्वोच्चले नेकपा खारेज गर्दै एमाले ब्युँताइदिएपछि ओली र नेपालबीच भेटवार्ता हुन सकेको थिएन ।
ओली पक्षले निर्वाचित कमिटीहरू भंग गर्दै महाधिवेशनको मिति समेत तोकेपछि दुई पक्षबीच तिक्तता निकै बढेको थियो ।
तिक्तताबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।