
प्रतिनिधि सभाको बैठकलाई प्रभावकारी ढंगले अगाडि बढाउन कार्यव्यवस्था परामर्श समितिको बैठक सोमवार बस्दैछ ।
सोमवार दिउँसो २ बजेका लागि सभामुख अग्नि सापकोटाले कार्यव्यवस्थाको बैठक बोलाएका सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले लोकान्तरलाई जानकारी दिए ।
नेकपाको मुख्य सचेतक विवादका कारण प्रतिनिधि सभाको अधिवेशन शुरू भए पनि कार्यव्यवस्थाको बैठक बस्न सकेको थिएन ।
अधिवेशन शुरू भएकै दिन फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै एमाले र माओवादी केन्द्र ब्युताइदिएपछि प्रमुख सचेतकको विवाद हल भएको छ ।
प्रतिनिधिसभा अधिवेशनको पहिलो बैठक कांग्रेस अवरोधका कारण स्थगित भएको थियो भने दोस्रो बैठक शोक प्रस्ताव पारित गरेर सकिएको थियो । प्रतिनिधि सभाको बैठक मंगलवारका लागि बोलाइएको छ ।
पहिलो बैठकमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पेश गर्ने क्रममा कांग्रेसले विरोध जनाएको थियो । भोलि मंगलवारको बैठकमा दलका नेताहरूले सम्बोधनसहित नियमित बिजनेशमा प्रवेश गर्ने गरी सचिवालयले तयारी गरेको छ ।