०४ असार २०८३, बिहीबार

चितवनमा ४ चक्के मशिनबाट धान रोपाइँ

चैत २, २०७७
चितवनमा ४ चक्के मशिनबाट धान रोपाइँ
फाइल फोटो

चितवनमा पहिलोपटक ४ चक्के मशिनबाट धान रोपाइँ गरिएको छ ।

रत्ननगर नगरपालिका–६ मा रहेको साना किसान कृषि सहकारी संस्था बछौली र खैरहनी–१२ स्थित साना किसान कृषि सहकारी संस्था कुमरोजले खरिद गरेको ४ चक्के मशिनबाट रोपाइँ गरिएको हो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले सहकारी संस्थामार्फत धान रोप्नका लागि चीनबाट २ वटा चारचक्के मशिन मगाएको थियो । २० लाख ९० हजार रुपैयाँका दरले खरिद गरिएका २ वटा मशिनमा परियोजनाले ५० प्रतिशत अनुदान दिएको छ ।

मशिन प्राप्त भएपछि शनिवारदेखि २ दिन सोही मशिनबाट धान रोपाइँ गरिएको थियो । 

परियोजनाको धान जोन कार्यक्रमका अधिकृत माधव पौडेलले यस मशिनबाट धान रोप्दा उत्पादकत्व बढ्ने र खर्च घट्ने बताए ।

‘यो प्रविधि सस्तो र सरल छ,’ उनले भने, ‘उत्पादकत्व बढ्ने भएकाले किसानको आकर्षण बढ्छ भन्नेमा विश्वस्त छौं ।’ सहकारी संस्थामार्फत सञ्चालनमा आएको मशिन देशमै पहिलो पटक हो ।

यसअघि झापाको महारानीझोडामा १ जना व्यवसायीले यस्तो मशिन भित्र्याएका थिए । चितवनमा यसअघि ३ पांग्रे मशिनबाट धान रोपाइँको थालनी भएको थियो तर त्यसमा किसानको रूचि खासै नदेखिएपछि परियोजनाले नयाँ विकल्पका रूपमा ४ चक्के मशिन ल्याउन तयारी थालेको थियो । यस मशिनबाट भने किसान सन्तुष्ट देखिएका छन् । 

मशिनको प्रयोग गरी धान रोप्नका लागि ब्याडको छुट्टै व्यवस्था गर्नुपर्छ । खेताला खोजेर खेतमै ब्याड राख्ने गरिएकोमा मशिनले रोप्ने बीउ भने ‘ट्रे’ (बीउ जमाउन प्रयोग गरिने भाँडो) मा जमाउनुपर्छ । उस्तै आकारका ट्रेमा माटो र मल राखेर जमाइएको बीउ रोप्नयोग्य भएपछि मशिनले खेतमा लगेर लाइन मिलाएर रोप्छ ।

बीउ लगाउने मशिन पनि स्वचालित र ‘मेनुअल’ पाइन्छन् । साना किसान कृषि सहकारी संस्था बछौलीसँग स्वचालित र कुमरोजसँग मेनुअल सिडर मशिन छ । स्वचालित मशिनले १ घण्टामा ५०० ट्रेमा बीउ राख्न सक्छ । १६० ट्रेमा हुर्किएको बीउले १ बिघा क्षेत्रफलमा रोप्न पुग्छ । १ दिनमा राखेको बीउले २५ बिघासम्म रोप्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्