बलिउड अभिनेत्री आलिया भट्ट सोमवार २८ वर्ष पुगेकी छन् ।
उनलाई बलिउडका अन्य अभिनेत्रीहरू करीना कपूर खान, प्रियंका चोपडा र कट्रिना कैफले जन्मदिनको शुभकामना दिएका छन् ।
जम्मा २८ वर्षको उमेरमा आलिया भट्टले लोभलाग्दो काम गरिसकेकी छन् । उनले राजी, उडता पञ्जाब, हाइवे, कपूर यान्ड सन्स जस्ता समीक्षकले उम्दा ठहर गरेका फिल्ममा काम गरेकी छन् ।
अनि टु स्टेट्स र बद्रीकी दुल्हनिया जस्ता हिट फिल्म पनि उनले दिएकी छन् ।
आलियाका पुर्खाहरू कश्मीरी, गुजराती, जर्मन र उत्तर प्रदेशका मुसलमानहरू थिए भन्ने कुरा तपाईंलाई थाहा छ ?
आलिया फिल्म निर्माता निर्देशक महेश भट्ट तथा अभिनेत्री सोनी राजदानकी दोस्रो सन्तान हुन् । भट्ट परिवारका मूल व्यक्ति नानाभाइ भट्ट गुजरातको काठियाबाद क्षेत्रमा रहेको पोरबन्दरमा ब्राह्मण थिए । उनी स्वैरकल्पनात्मक तथा धार्मिक चलचित्र बनाउँथे ।
उनले नै हिन्दी फिल्महरूमा जुम्ल्याहाको अवधारणा भित्र्याएका हुन् ।
नानाभाइको विवाह भइसकेको भए पनि शिरिन मोहम्मद अली नामक महिलासँग उनको सम्बन्ध थियो । शिरिन महेश भट्टकी आमा हुन् । नानाभाइले शिरिनलाई बिहा गरेनन् । त्यसैले महेश भट्ट नाजायज सन्तान हुन् ।
महेशलाई आमाबुवाको सम्बन्धले सताएका थियो र उनले यसको कथा सन् १९९८ को फिल्म जख्ममा उतारेका थिए ।
शिरिनकी बहिनी र महेशकी सानीमा पूर्णिमा (जन्मिँदाको नाम मेहरबानो मोहम्मद अली) सन् १९४० र ५० की सफल अभिनेत्री थिइन् । उनी इमरान हाशमीकी हजुरआमा हुन् ।
आलियाकी आमा सोनी राजदान पनि अभिनेत्री थिइन् तर उनी त्यति चलिनन् । सोनीकी आमा गर्ट्रुड होएल्जर नामक जर्मन महिला थिइन् भने पिता कश्मीरी पण्डित समुदायका नरेन्द्र नाथ राजदान थिए । गर्ट्रुड र नरेन्द्रको भेट लन्डनमा आर्किटेक्चरको पढाइका क्रममा भएको थियो ।
सोनी बेलायतको बर्मिंघममा जन्मेर हुर्केकी हुन् र पछि भारत आइन् । त्यसैले उनी बेलायती नागरिक हुन् र छोरी आलिया पनि ।
महेश भट्ट भायोलिन बजाउन जान्दथे र सोनी उनको भायोलिन वादनकै दीवानी भएर प्रेममा परेकी थिइन् ।
आलियाकी बहिनी शाहीन भट्ट हुन् ।