सर्प खेलाउने काम जोखिमपूर्ण हुन्छ । अनुभवी सपेरालाई पनि कहिलेकाहीँ सर्पले आश्चर्यमा पारिदिन्छ ।
जे ब्रुअर नामक व्यक्ति अमेरिकाको क्यालिफोर्नियामा रहेको रेप्टाइल जूका संस्थापक हुन् । उनले वर्षौंदेखि सर्पको व्यवस्थापन गरेका छन् ।
उनको इन्स्टाग्राम अकाउन्टमा सर्पका तस्वीर र भिडियोहरू देखिन्छ । उनी ठूला र हेर्दै खतरनाक लाग्ने सर्पहरूको बीचमा बसिरहेका हुन्छन् जुन देख्दा सामान्य मानिसको शरीरमा काँडा उम्रिन्छ ।
हालै उनले पोस्ट गरेको एक भिडियोमा ब्रुअर एक बाक्सामा कुण्डली मारेर बसेको अजिंगर नजिक उभिएको देखिन्छ । उनी अजिंगरबाट ध्यान अलिकति हटाउँदा उसले उनलाई झ्याप्पै आक्रमण गर्छ ।
तर ब्रुअर अजिंगरको आक्रमण छल्न सफल हुन्छन् ।
‘वाउ, आँखा यसो हटाएको त । हेर हेर, यो अजिंगर कति बाठी छे ?’ सर्पको आक्रमण छलेपछि उनी व्याख्या गर्छन् ।
आइतवार यो भिडियो पोस्ट गरिएपछि लाखौं भ्युज भइसकेका छन् र अनेकौं कमेन्ट आएका छन् ।