०५ असार २०८३, शुक्रबार

जलपंक्षी गणनासम्बन्धी राष्ट्रिय गोष्ठी रुपन्देहीमा शुरू

चैत २, २०७७
जलपंक्षी गणनासम्बन्धी राष्ट्रिय गोष्ठी रुपन्देहीमा शुरू

जलपंक्षी गणनाबारे नयाँ–नयाँ तरिका, प्रविधि र योजनाबारे जानकारी दिने ध्येयले रुपन्देहीमा सोमवारदेखि तेस्रो राष्ट्रिय गोष्ठी शुरू भएको छ ।

२ दिने गोष्ठीमा स्थानीय चरा गणनाका संयोजक, चराविद् तथा चरा संरक्षणसम्बन्धी संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ ।  

यसअघि सन् २००७ मा पहिलो गोष्ठी लुम्बिनीमै र सन् २०१२ मा दोस्रो गोष्ठी चितवनमा भएको थियो । नेपालमा प्रत्येक वर्ष मध्य हिउँदमा हुने जलपंक्षी गणना राष्ट्रियरूपमा संयोजन गर्दै आएको हिमाली प्रकृति संस्थाको आयोजित कार्यक्रममा चरा गणनाको तथ्यांक संकलन, गणना र शुद्धताबारे पनि निष्कर्ष निकालिने जनाइएको छ । 
गोष्ठीमा कोशी टप्पु, हेटौंडा, चितवन, जनकपुर, काठमाडौं, नवलपरासी, पोखरा, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, कैलाली र कञ्चनपुरलगायत ठाउँबाट ३५ भन्दा बढी चराविद्को सहभागिता रहेको आयोजक संस्थाका कार्यक्रम निर्देशक डा. तुल्सी सुवेदीले जानकारी दिइन् । 

सिमसार क्षेत्रको खस्कँदो अवस्था र संरक्षणका लागि गर्नुपर्ने स्थान विशेष कामबारे अन्तर्क्रिया हुने उनले बताइन् ।

पानी चराको अवस्था, चरा आवागमन सहजता र संरक्षणमा गर्नुपर्ने काम, जलपंक्षी संरक्षण र सिमसार क्षेत्रको दीगो व्यवस्थापनका लागि आवश्यक प्रभावकारी कदम चाल्ने विषयमा समेत जानकारी दिइने छ ।
 
कार्यक्रममा चरा गणनाका राष्ट्रिय संयोजक वरिष्ठ चराविद् डा. हेमसागर बराल र वेटल्यान्ड इन्टरनेसनलका वरिष्ठ वैज्ञानिक डा. तेज मुण्दकरले नेपाल, दक्षिण एसिया र विश्वमा पानी चराको अवस्था र संरक्षणका लागि गर्नुपर्ने कामबारे विशेष सम्बोधन गर्ने आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्