
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण क्षेत्रका जंगली वन्यजन्तुको आक्रमणबाट मानवीय क्षतिका घटना बढ्दै गइरहेका छन् ।
गत फागुनमा मात्रै राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र वरपर भएका मानव–वन्यजन्तु द्वन्द्वका घटनामा ३ जनाले ज्यान गुमाउनाका साथै ४ जना घाइते भएका छन् ।
चितवनको तामासुर पोस्टको जिम्मेवारी क्षेत्रमा फागुन २० गते खेतमा घाँस काटिरहेकी महिलाको गैंडाको आक्रमणबाट मृत्यु भएको नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयले जनाएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको गेरुवा गाउँपालिका–६ नौलोबाँस इलाका सामुदायिक वनमा भैंसी चराउन गएका लालबहादुर चौधरीको पनि बाघको आक्रमणमा परी निधन भएको छ । बर्दियाकै मधुवन नगरपालिका–३ भगडैयास्थित राष्ट्रिय वनमा घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी २६ वर्षीया रीना सुनारको निधन भएको त्यहाँ तैनाथ देवीदत्तगणले जनाएको छ ।
चितवन, बर्दिया र कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रका ४ वासिन्दा फागुनमा वन्यजन्तुको आक्रमणमा परी घाइते भएका छन् । पछिल्लो समय वन क्षेत्रमा अतिक्रमण बढ्दै गएपछि चरन र आहारको खोजीमा जंगली जनावर मध्यवर्ती र बस्ती क्षेत्रमा प्रवेश गर्ने क्रम बढेसँगै मानवीय क्षतिका घटनामा वृद्धि भएको अनुमान गरिएको छ ।
भरतपुर महानगरपालिका–७ का मंगलबहादुर कुँवर र रत्ननगर नगरपालिका–७ की फिरला महत गैंडाको आक्रमण तथा बर्दिया गेरुवा नगरपालिका–१ का सरोज कार्की बाघको आक्रमणमा परी घाइते भएको सेनाले जनाएको छ ।
सुनसरी बराहक्षेत्र नगरपालिका–११ की कविताकुमारी उराँवलाई पनि खेतमा घाँस काट्न जाने क्रममा अर्नाले हानेर घाइते तुल्याएको थियो ।