१० असार २०८३, बुधबार

बाइडनले पुटिनलाई दिए ‘हत्यारा’को संज्ञा, कठोर प्रतिबन्ध लगाउने चेतावनी

चैत ५, २०७७
बाइडनले पुटिनलाई दिए ‘हत्यारा’को संज्ञा, कठोर प्रतिबन्ध लगाउने चेतावनी

अमेरिकाका राष्ट्रपति जो बाइडनले अमेरिकी सुरक्षा निकायहरूको प्रतिवेदन सार्वजनिक भएपछि रुसविरुद्ध कठोर प्रतिबन्ध लगाउने तयारी गरिरहेको बताएका छन् । 

सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा रुसले बाइडनका प्रतिद्वन्द्वी डोनल्ड ट्रम्पलाई सहायता गरेको खुलासा प्रतिवेदनमा गरिएको छ । 

बुधवार एबीसी न्युज च्यानललाई दिएको अन्तर्वार्तामा बाइडनलाई जर्ज स्टेफानोपोलोसले सोधे, ‘तपाईंलाई भ्लादिमिर पुटिन हत्यारा हुन् जस्तो लाग्छ ?’

‘अँ, लाग्छ,’ बाइडनले जवाफ दिए । 

निर्वाचनमा रुसले हस्तक्षेप गरेको प्रमाण फेला परेमा अमेरिकाले कारवाही गर्न सक्ने भनी पुटिनलाई यसअघि चेतावनी दिइसकेको उनले बताए । ‘उनले यसको मूल्य चुकाउनुपर्नेछ,’ बाइडनले भने । 

‘हामीबीच लामो कुराकानी भएको थियो । उनलाई म राम्ररी चिन्छु । हस्तक्षेप भएको कुरा स्थापित भयो भने तयार रहनू भनी मैले उनलाई बताएको थिएँ ।’

मंगलवार सीआईए र डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी लगायत वाशिङटनका गुप्तचरी संस्थाहरूको संयुक्त प्रतिवेदन सार्वजनिक गरिएको थियो । त्यसमा रुसले अमेरिकी निर्वाचनमा बाइडनको प्रभाव न्यूनीकरण गर्न अभियान चलाएको उल्लेख छ ।

बुधवार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले गुप्तचरी प्रतिवेदनको आलोचना गरे । ‘रुसले अघिल्ला निर्वाचनहरूमा हस्तक्षेप गरेको थिएन र प्रतिवेदनमा उल्लेख गरिएको निर्वाचनमा पनि हस्तक्षेप गरेको हैन । रुसलाई अमेरिकी राष्ट्रपति पदका उम्मेदवारहरूसँग कुनै लेनादेना छैन । यो प्रतिवेदन झूटो हो ।’

रुसमाथि नयाँ प्रतिबन्ध लगाउने बहानाका लागि यो प्रतिवेदनमा उल्लेखित आरोपहरू लगाइएको उनको तर्क छ । 

salt training

कमेन्ट गर्नुहोस्