०४ असार २०८३, बिहीबार

इसेवा र पश्चिमाञ्चल होटल संघ पोखराबीच क्यूआर तथा डिजिटल पार्टनरसीप सम्झौता

इसेवा र पश्चिमाञ्चल होटल संघ पोखराबीच क्यूआर तथा डिजिटल पार्टनरसीप सम्झौता

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र पश्चिमाञ्चल होटलसंघ पोखराबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरशीपका लागि सम्झौता भएको छ ।

यससँगै अबदेखि पोखराका होटलमा बस्दा नगद बोक्नुपर्ने झञ्झटबाट समेत मुक्ति मिलेको छ ।

बुधवार पोखरामा एक कार्यक्रमबीच इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछाने र पश्चिमाञ्चल होटल एशोसिएसनका अध्यक्ष विकल तुलाचनले हस्ताक्षर गरे ।

सम्झौता अनुसार संघ र यस अन्तर्गतका सदस्य होटलहरुले फोनपेद्वारा संचालनमा ल्याइएको क्यूआर कोड सम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग गर्ने छन् भने फोनपेले इसेवा लगायत आफ्ना अन्य कम्पनीमार्फत् पोखराको पर्यटन प्रबद्र्धनमा सघाउने छन् ।

बुधवार भएको कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख ईश्वरीप्रसाद भट्टराईले गरेका थिए ।

कार्यक्रममा बोल्दै भट्टराईले जनताको तल्लो तहसम्म क्यूआर कोडजस्ता प्रविधिलाई पुर्‍याइनुपर्ने र यसका लागि राष्ट्र बैंकले समेत प्रोत्साहन गरिरहेको बताए । सस्तो, शुलभ र निःशुल्क इन्टरनेट जस्ता विषयले मात्र डिजिटल भुक्तानीलाई बढावा दिन सकिने भन्दै उनले टेलिकम कम्पनीहरूसँग छलफल भइरहेको समेत बताए ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष विकल तुलाचनले प्रविधिलाई अँगालेर अगाडि बढ्न सके छिटो, छरितो र पारदर्शी भुक्तानीमा बल पुग्ने भनाई राखे । डिजिटल मुभमेण्टलाई अगाडि बढाउने विषयमा संघ प्रतिवद्ध रहेको भन्दै अध्यक्ष तुलाचनले क्यू आर कोडलाई बढी भन्दा बढी प्रयोग गर्न र आफ्ना ग्राहकलाई समेत त्यसका लागि प्रोत्साहन गर्न व्यवसायीसँग आग्रह गरे ।

इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले इसेवा, फोनपे, डिजिटल भुक्तानी र क्यूआर कोडको प्रयोग, महत्त्व तथा फाइदाबारे जानकारी गराएका थिए । संघले सञ्चालन गरेको जाउँ है पोखरा अभियानलाई थप अगाडि बढाउन र पोखरालाई डिजिटल शहरका रूपमा अगाडि बढाउन आफ्नो कम्पनी र समूहका तर्फबाट पूर्ण सहयोग रहने बताए ।

होटल संघ नेपालका केन्द्रीय सदस्य एवं पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पर्यटन प्रबद्र्धन र डिजिटल प्रणालीको विकास र महत्त्वबारे भनाई राखेका थिए ।

कार्यक्रममा सक्षम एक्सेस टु फाइनान्सका प्रवीणराज पन्त, एफवान सफ्ट समूहका चिफ अपरेटिङ अफिसर शिशिर पछाइ र संघका महासचिव गणेशराज पहारीले पनि डिजिटल भुक्तानीको महत्त्वबारे भनाई राखेका थिए ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले पछिल्ला दिनमा सरकारी क्षेत्रमा शुल्क बुझाउँदा व्यहोर्नुपर्ने झञ्झटको अन्त्य गर्न विभिन्न किसिमका सेवा थप गर्दै गएको छ । हाल इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करीब ४५ लाख छ । 

अप्रत्यक्ष रूपमा करीब १ करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करीब १ लाखभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या करीब २ लाख छन् ।

salt training

कमेन्ट गर्नुहोस्