
कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नेपाल र भारतका बीचमा यातायात सञ्चालन गर्न मन्त्री परिषद्लाई सिफारिश गरेको छ ।
बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नेपाल र भारतबीच यातायात सञ्चालन गर्नका निम्ति मन्त्रिपरिषद्लाई सिफारिश गर्ने निर्णय गरेको हो ।
नेपाल-भारत यातायातका १३ वटा रुटबाट पूर्ववत् रूपमा यातायात सञ्चालनका निम्ति मन्त्रिपरिषद्लाई सिफारिश गरिएको सीसीएमसीका सचिव खगराज बरालले बताए ।
यात्रुहरूले पूर्णरूपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अगाडिको पीसीआर रिपोर्ट नेगेटिभ आएका हुनुपर्ने उहाँको भनाइ छ ।
त्यसैगरी बैठकले नेपाल-भारत सिमानामा नेपालतर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिश गरेको छ ।
गत चैत्र ११ गतेदेखि नेपालका कोभिड- १९ संक्रमणका कारण लकडाउन गरिएपछि नेपाल-भारत यातायात हालसम्म ठप्प रहेको छ ।
यातायातका साधन ठप्प भएपनि सिमानाबाट हजारौँको संख्यामा दैनिक रूपमा आवतजावत् भइरहेको सन्दर्भमा यातायातका साधन पनि चलाउनको लागि पहल गरिएको सीसीएमसीका सचिव खगराज बरालले बताए ।