
दैलेखको ठाटिकाँध गाउँपालिका–६ की एक सुत्केरीको शंकास्पद मृत्यु भएको छ । सुत्केरी भएको १५ दिनपछि उनको मृत्यु भएको हो ।
मृत्यु हुनेमा शेरबहादुर रोकायकी पत्नी ३२ वर्षीया हस्तना थापा रहेकी जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
बुधवार स्थानीय ठाटिकाँध बजार गएर साँझ फर्केपछि बच्चा र पति शेरबहादुरसँगै सुतेका र बिहान हेर्दा हस्तनाको मृत्यु भएको देखिएको प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए ।
प्रहरीका अनुसार हस्तनाको मृत्यु शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि पति शेरबहादुरलाई नियन्त्रणमा राखिएको छ । मृतक हस्तनाका यसअघि ३ छोरी छन् ।
नवजात शिशुको अवस्था सामान्य रहेको आफन्तले जनाएका छन् । मृत्युको कारण पोस्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरी प्रमुख श्रेष्ठले बताए ।