
लुकेका अपराधीलाई खोजी–खोजी कानूनी दायरामा ल्याउन महानगरीय प्रहरी कार्यालयका आयुक्त एआईजी हरिबहादुर पालले निर्देशन दिएका छन् ।
महानगरीय प्रहरी कार्यालयको आयोजनामा राष्ट्रिय सभागृह भृकुटीमण्डप काठमाडौंमा बिहीवार मातहत कार्यालयका कार्यालय प्रमुखहरूलाई महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले निर्देशन दिए ।
निर्देशन कार्यक्रमलाई सम्बोधन गर्दै एआईजी पालले समाजमा हुने कानून विपरीतका गतिविधिलाई नियन्त्रण गर्न प्रभावकारी योजना बनाएर लागू गर्न निर्देशन दिएका थिए ।
नागरिकलाई प्रहरीले गर्ने व्यवहारबाट नै नागरिकले प्रहरीप्रतिको धारणा बनाउने हुँदा आमनागरिकप्रति उत्तरदायी भई पीडितमैत्री व्यवहार गरी सेवा प्रवाह गर्नुपर्ने उनले बताए ।
महिला तथा बालबालिका, वृद्ध, फरक क्षमता भएकाहरू संलग्न घटनालाई संवेदनशील भई प्राथमिकताका साथ अनुसन्धान गर्न उनले निर्देशन समेत दिए । मातहतका कर्मचारीहरूले गरेको गल्तीको जिम्मेवारी कार्यालय प्रमुखले लिनुपर्ने भन्दै मातहतका कर्मचारीहरूको काम कारबाही, आचरण, व्यवहारतर्फ विशेष ध्यान दिई आम नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्न मातहतका प्रहरी प्रमुखहरूलाई निर्देशन दिए ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई निरन्तता दिई जनतासँगको सम्बन्धलाई सुदृढ गर्दै समाजमा लुकेका अपराधहरूको सूचना संकलन गरी त्यस्ता अपराधलाई कानूनी दायरामा लयाउनुपर्नेमा पनि उनले जोड दिए ।
प्रहरीले कारवाही गर्दा मानवअधिकारको सम्मान गर्दै कानून बमोजिम मात्र बल प्रयोग गरी निर्दिष्ट कानूनको परिपालना, हिरासत व्यवस्थापन तथा फैसला कार्यान्वयनमा विशेष ध्यान दिन पनि निर्देशन दिए ।
प्रहरी कार्यालयबाट सूचना प्रवाह गर्दा ‘नेपाल प्रहरीको मिडिया नीति २०६०’ बमोजिम मात्र गर्ने तथा प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोगमा प्रहरी पोशाकको प्रयोग नगर्न समेत निर्देशन दिए ।
आउँदै गरेको फागु पूर्णिमा (होली) लाई सुव्यवस्थित र मर्यादित बनाउन सुरक्षा योजना बनाई प्रभावकारी कार्यान्वयनमार्फत पर्वहरूको व्यवस्थापन गराउन पनि विशेष निर्देशन दिए ।