
सत्ता समीकरणमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा)को बहुप्रतिक्षित केन्द्रीय कार्यकारिणी समिति बैठक अन्तिम समयमा आएर स्थगित भयो ।
संगठन समायोजन, समसामयिक राजनीतिक अवस्था र विविध गरी तीन एजेन्डामा छलफल गर्नका लागि बिहीवार बोलाइएको कार्यकारिणी समिति बैठक अन्तिम समयमा स्थगित गरिएको हो ।
५३ जना सदस्य रहेको कार्यकारिणी समितिको बैठकमा सहभागिताका लागि प्रायजसो काठमाडौं आइसकेको अवस्थामा अचानक स्थगित गरिएको विषयलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
जसपाका केन्द्रीय कमिटीका अध्यक्ष उपेन्द्र यादवले एकतर्फी रूपमा पार्टीमा मत विभाजन ल्याउने गरी प्रतिवेदन पेश गर्ने तयारी गरेको भेउ पाएपछि अर्का अध्यक्ष महन्थ ठाकुर वरिष्ठ नेता राजेन्द्र महतोले बैठक स्थगित गरेको महतोनिकट एक सांसदले बताए ।
'नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुनै पनि हालतमा सहकार्य गर्न नै नहुने, मधेशको मुद्दा समेतलाई बेवास्ता गर्दै ओलीलाई मात्र खलपात्रको रूपमा अध्यक्ष उपेन्द्र यादवजीले प्रतिवेदन पेश गर्ने तयारी गर्नुभएको थियो,' ती सांसदले भने, 'प्रचण्ड र देउवासँग मात्र सहकार्य गर्न सकिने भनेर एकपक्षीय प्रस्ताव ल्याएर पार्टीभित्र मत विभाजन गर्ने उद्देश्य साथ प्रतिवेदन ल्याउन लागेपछि ठाकुरजी र महतोजीले बैठक स्थगित गर्नुभएको हो ।'
सर्वसम्मत तरिकाले छलफल गरेर पार्टीको साझा प्रतिवेदन आओस्, एकपक्षीय तरिकाले नआओस् भन्ने उद्देश्यले बैठक अन्तिम समयमा आएर स्थगित गर्नुपरेको उनको कथन छ ।
पूर्व सपा खेमाकी सांसद रेणु यादव भने उक्त आरोप गलत रहेको बताउँछिन् ।
'सत्तामा जाने वा नजाने, कोसँग सहकार्य गर्ने भन्ने विषय नै थिएन,' जसपा सांसद यादवले लोकान्तरसँग भनिन्, 'संगठनात्मक काम, समायोजन तथा आदेशको समसामयिक परिवेश कुन-कुन घटनाहरूमाथि के-के हुनुपर्छ भन्ने विषयमा अध्यक्ष यादवज्यूले अर्का अध्यक्ष ठाकुरजीसँगको सहकार्य तथा छलफलमा नै प्रतिवेदन तयार पार्नुभएको थियो ।'
नेताहरूलाई फुर्सद नभएको तथा समय अभावका कारण मात्र बैठक स्थगित भएको यादवको भनाइ छ ।
सरकार गठनका लागि जसपामा दुई धार देखिएको छ । महन्थ ठाकुर तथा राजेन्द्र महतो पक्ष भने अहिलेको ओली सरकारसँग मुद्दा फिर्ता, जेलमा बन्द रहेका रेशमलाल चौधरीसहितका नेता तथा कार्यकर्ताहरूको रिहाइका लागि कार्यदल बनाएर वार्ता गरिरहेको छ ।
ओली नेतृत्वको सरकारसँग कुनै पनि किसिमको सहकार्य गर्न नसकिने उपेन्द्र यादवले बताउदै आएका छन् । ठाकुर-महतो पक्षले भने जुन सरकारले मधेश मुद्दा समाधान नगदमा हाताहाती गर्छ त्यसैसँग सहकार्य गर्न सकिने बताउँदै आएको छ ।
कुन पक्षसँग सत्ता सहकार्य गर्ने भन्ने विषयलाई लिएर जसपामा प्रस्ट दुई धार देखिएको छ ।