अमेरिकाका राष्ट्रपति जो बाइडनले रुसका राष्ट्रपतिलाई हत्याराको संज्ञा दिएपछि रुसले आक्रोशयुक्त प्रतिक्रिया जनाएको छ ।
यस्तो खालको टिप्पणी अभूतपूर्व भएको र दुई देशबीचको सम्बन्ध एकदमै बिग्रिएको उनले बताए ।
तर यससँगै पुटिनले बाइडनलाई अन्लाइन वार्ताका लागि कुरा गर्न निमन्त्रण दिएका छन् ।
एबीसी टेलिभिजनसँगको अन्तर्वार्तामा बुधवार बाइडनले अमेरिकी गुप्तचर संस्थाहरूको प्रतिवेदनको निष्कर्षलाई सन्दर्भ बनाउँदै राष्ट्रपति निर्वाचनमा बाइडनविरुद्ध रुसले चलाएको अभियानको मूल्य पुटिनले चुकाउनुपर्ने बताएका थिए ।
त्यसैक्रममा उनले पुटिन हत्यारा भएको पनि बताएका थिए ।
क्रेमलिन (रुसी सरकार) का प्रवक्ता दिमित्री पेस्कोभले यस्तो किसिमको कुरा इतिहासमा कहिले पनि नभएको सञ्चारकर्मीहरूलाई बताए ।
बाइडन दुई देशबीचको सम्बन्ध सुधार्न चाहँदैनन् र सम्बन्ध अहिले धेरै खराब भएको छ, पेस्कोभले बताए ।
पुटिन आफैंले बताए, ‘म राष्ट्रपति बाइडनलाई छलफल जारी राख्न निम्तो दिन्छु तर हाम्रो कुराकानी प्रत्यक्ष र अन्लाइन हुनुपर्छ । पहिले नै रेकर्ड गरिएको हैन, खुला र सीधा छलफल ।’
ह्वाइट हाउसकी प्रेस सचिव जेन पिसाकीले यो पुटिनको निम्तो बाइडन प्रशासनले स्वीकार गर्ने विषयमा आफू सुनिश्चित नरहेको बताइन् ।
त्यसअघि पुटिनले बाइडनको सुस्वास्थ्यको कामना गरे ।
‘उनले भनेको सत्य हो, हामी एकअर्कालाई व्यक्तिगत रूपमा चिन्छौं । म उनलाई के जवाफ दिऊँ ? म उनलाई भन्छु– स्वस्थ हुनु,’ पुटिनले भने । ‘म उनको सुस्वास्थ्यको कामना गर्छु । म यो मजाकमा भनिरहेको छैन ।’