
काठमाडौंको दक्षिणकाली नगरपालिका–१ खहरे चाल्नाखेलमा मृत भेटिएका २ जना ३ दिनदेखि घरबाट हराएको खुलेको छ ।
काभ्रे घर भई काठमाडौंको असन बस्दै आएका मृतक मंगल तामाङका बुवा चन्द्रबहादुर तामाङले लोकान्तरसँग कुराकानी गर्दै विगत ३ दिनदेखि छोरा र उनका साथी अर्जुन खड्का घरमा नआएको बताए ।
‘३ दिन भो घर नआएको, अरु समयमा पनि आउँदैन्थ्यो त्यसैले कतै साथीकोमा गएको होला भन्ने लागेको थियो,’ चन्द्रबहादुरले भने, ‘यस्तो भयो भन्ने त विश्वासै गर्न गाह्रो लागेको थियो ।’
तामाङका दाजु शुक्रराज तामाङका अनुसार लागूऔषधको दुर्व्यसनी भएकाले मंगल र उनका साथी अर्जुन बिहानको समयमा घर आउने र साँझ नआउने भएकाले खोजी भएको थिएन ।
तर असन क्षेत्रबाट बाहिर नगएका उनीहरू कसरी चाल्नाखेल आइपुगे भन्ने विषय शंकास्पद भएको र कसैले योजनाबद्ध हत्या गरेको हुनसक्ने परिवारको आशंका छ ।
‘पक्कै पनि कसैले योजना बनाएर मारेको हुनसक्छ । उनीहरू खाने भए पनि असनबाट बाहिर आएको अहिलेसम्म मैले थाहा पाएको छैन,’ शुक्रराजले लोकान्तरसँगको कुराकानीमा भने, ‘यो योेजनाबद्ध नै हुनुपर्छ, यसको सत्यतथ्य खोजी हुनुपर्छ ।’
‘शव हेर्दा मुखमा घाउ नै घाउ छ, एउटा चोक्टो पनि उछिट्याएको छ, कसरी पत्याउनु विष सेवन गरेर मरेको भनेर ?’ शुक्रराजले भने ।
मंगल र अर्जुन दुवै १० कक्षामा अध्ययनरत रहेको शुक्रराजले बताए । ‘मेरो भाइ बिहानको कक्षा पढ्थ्यो र अर्जुन साँझ पढ्थ्यो,’ शुक्रराजले भने ।




नुवाकोटको छापा घर भएका १६ वर्षीय खड्का असनस्थित टेउडा स्कूलमा १० कक्षामा पढ्थे । काभ्रेको भुम्लु सल्ले गाउँपालिका घर भएका १८ वर्षीय मंगल क्षेत्रपाटीस्थित जीपी स्कूलमा १० कक्षामा अध्ययनरत थिए ।
प्रहरीले शवनजिकै विषका सीसीहरू पनि भेटिएकाले मृत्यु विष सेवन गरेर भएको हुनसक्ने बताएको छ । ‘शवको नजिकै विष पनि भेटिएको छ, यसैबाट मृत्यु भएको हुनसक्छ,’ महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले लोकान्तरसँग भने, ‘तर सबै कुरा भने पोस्टमार्टमबाट आउला ।’
२ जना छोराका बुवा चन्द्रबहादुर असन क्षेत्रमा नाङ्लोमा पसल गरेर मंगल तामाङलाई पढाउँदै आएका थिए । मंगलका दाजु शुक्रराजले भने, ‘भाइलाई पढाउनकै लागि बुवाले नाङ्लोमा पसल गर्नुभएको छ तर दैवले यस्तो गर्यो ।’