
सर्लाहीमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ ।
सदरमुकाम मलंगवामा कार्यालय सञ्चालनमा ल्याइएको जिल्ला जनगणना अधिकारी राजु पोखरेलले बताए ।
प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको अध्यक्षतामा बसेको जिल्ला जनगणना समन्वय समितिको बैठकले विक्रम संवत् २०७८ सालमा हुने जनगणनाका लागि सदरमुकाम मलंगवामा जिल्ला जनगणना कार्यालय र अन्य ६ स्थानमा स्थानीय जनगणना कार्यालय खोल्ने निर्णय गरेको केन्द्रीय तथ्यांक विभागबाट सर्लाही जिल्लाका लागि खटिएका पोखरेलले बताए ।
जिल्लास्तरीय कार्यालय स्थापना गरी विक्रम संवत् २०७८ सालको जिल्लाको जनगणना कार्यको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए । आगामी वैशाख १ गतेबाट सञ्चालन हुने गरी लालबन्दी, मलंगवा, कविलासी, गोडैता, ईश्वरपुर र बरहथवा नगरपालिकामा स्थानीय जनगणना कार्यालय खोलिने पोखरेलले बताए ।
उनका अनुसार कार्यालयसँग सीमित बजेट र कर्मचारी भएकाले जिल्लाका स्थानीय तहसँग समन्वय गरी जनगणना कार्य अघि बढाइने बताइएको छ । जनगणनाका लागि सुपरीवेक्षक र गणक करारमा नियुक्ति गर्न सरकारले चैत ११ गतेसम्मका लागि अनलाइन विज्ञापन गरिएको कार्यालयले जनाएको छ ।
केही दिन कार्यालयको व्यवस्थापन, स्थानीय तह तथा जनगणना समन्वय समितिको पदाधिकारी रहेका जिल्लास्थित विभिन्न कार्यालयलाई पत्राचार गर्ने कार्यमै ब्यस्त हुने पोखरेलले बताए । नेपालमा हरेक १० वर्षको अन्तरालमा राष्ट्रिय जनगणना हुने गरेको छ ।
विक्रम संवत् २०७८ सालमा हुने जनगणनाअन्तर्गत सुपरीवेक्षकले वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्ने र गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशभर जनगणनाको कार्य गर्ने कार्यालयले जनाएको छ ।