
नेकपा एमाले संस्थापन पक्षले पार्टीमा गुटगत क्रियाकलाप गरेको आरोपमा माधवकुमार नेपाल सहित ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको केन्द्रीय कमिटी बैठकले पार्टी हित विपरितका गतिविधि गरेको भन्दै नेपाल समूहका ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
माधव नेपाल सहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई पार्टी हित बिरुद्ध काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए । ‘नेतृत्व र पार्टीलाई खुइल्याउन र सरकारको बदनाम गराउ गुटगत भेला गरेकोले स्पष्टीकरण सोध्ने निर्णय भयो’ ती नेताले भने ।
तर सो समूहमा लागेका झलनाथ खनाल, योगेश भट्टराई लगायतका नेताहरुलाई भने स्पष्टीकरण सोधिएको छैन । रावल, पाण्डे, भुसाल र झाँक्रीले प्रधानमन्त्री एवं अध्यक्ष ओलीको कडा आलोचना गर्दै आएका छन् ।
बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरुको बन्द सूचीमा रहेको नाम हटाउने राख्ने या हेरफेर गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यायोजन गर्ने निर्णय पनि गरेको छ ।
यस्तै पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरुको बिदाइ, मनोनयन तथा कार्बाही गर्ने अधिकार पनि पार्टी अध्यक्षलाई प्रत्यायोजन गरिएको छ ।