१२ साउन २०८३, मंगलबार

ललितपुरका मेयरः हँसिला चिरीबाबुका रमाइला किस्सा !

कात्तिक २०, २०७४
ललितपुरका मेयरः हँसिला चिरीबाबुका रमाइला किस्सा !

काठमाडौं, १० जेठ– ललितपुर महानगरपालिकाको मेयर पदको ‘चियर’ मा थोरै मत अन्तरले बस्न सफल चिरीबाबु महर्जन निकै हँसिला छन् ।

महानगरको मेयर विजेता महर्जन दुई प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकार र माओवादी केन्द्रका दिनेश महर्जन भन्दा उमेरले पनि जेठा हुन् ।

ललितपुरको पुल्चोकमा २०१४ सालमा जन्मेका चिरीबाबु आउने मंसिरमा ६० पुग्दैछ छन् तर पनि उनको अनुहारमा निराशा भन्दा आशा बढी पाइन्छ ।

सधै हँसिलो अनुहारमा भेटिने छोटो कदका चिरीबाबुको पहिचान सेतो फुलेको कपालसँगैको मुठ्ठा परेको बाक्लो जुँगा हो ।

उमेरका कारण हाँस्दा अनुहारमा मुजा पर्छन्, तर उनको अठ्ठाहास हाँसोमा मिठास रहेको उनलाई चिन्नेहरु बताउँछन् ।

उमेरले साठीको बसन्तमा रहेका चिरीबाबु हिँड्न खुबै मन पराउँछन् । बिहान मर्निङ वाक गर्न पुल्चोकबाट पाटनका शहरहरु घुम्ने चिरीबाबुले मतगणनाको समयमा पनि त्यसलाई निरन्तरता दिइरहे ।

मतगणना स्थल जावलाखेलको महिला विकास प्रतिष्ठानमा मतगणना शुरु भए देखि नै लगातार दिनरात खटिरहेका हुन्थे उनी । प्राय हाफ टिसर्ट र पाइन्टमा देखिने चिरीबाबु ढाका टोपी कहिल्यै छुटाउँदैनन् ।

जोसँग भेट्दा पनि हाँसेर बोल्ने र ठ्ट्टा गर्ने उनको बानी छ । उनी सबै उमेरका बच्चादेखि बृद्धसम्म पनि ‘जोक्स’ मार्न सिपालु छन् । मतगणनास्थलमा निरन्तर खटिरहेका चिरीबाबुलाई खटाइ बढी भएको बारे सोधिएको प्रश्नमा उनले भने ‘भार्इ (सबैलाई भाई भन्ने उनको बानी नै हो ) यो त मेरो नियमित मर्निङ वाकको आधा कुदाई मात्रै हो । म बिहान ६ बजे नै ललितपुर पुल्चोकदेखि मंगलबजार, पाटन एरियामा मर्निङ वाक गर्न हिँड्छु त्यसैले मलाई बानी छ । हिँड्न मलाई कुनै गाह्रो हुन्न ।’

पत्रकार सम्मेलनमा पत्रकारले तपाइँको परिचय दिनुस् न भन्दा चिरीबाबुले भने ‘म महर्जन अर्थात किसानको छोरो हुँ तर मेरो जग्गा भने छैन ।’

उनले आफू स्वास्थ्यका हिसाले तगडा भएको बताए । पत्रकार सम्मेलनमा मेयर भएपछि उपलव्ध हुने सुरक्षा बारे उनी भन्छन् ‘अहिले सम्म तगडा नै छु ( पाखुरा देखाउँदै त्यसैले ) सेक्युरिटी नभएपनि केही फरक पर्दैन । ’

मतगणनास्थलमा एक जना तामाङ थरका एकव्यक्तिसँग चिरीबाबु जिस्किँदै थिए । चिरीबाबु आफ्नो अनुहार देखाउँदै हेर्नुस् त मेरो अनुहार (आँखा सानो बनाउँदै) म तामाङ जस्तो देखिँन्न त ? भन्दै जिस्किरहेका थिए । साँच्चै चिरीबाबु नेवारभन्दा बढी तामाङ मुलका जस्ता देखिने गरेको चर्चा मतगणना स्थनमा पनि चलेको थियो ।

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट चिरीबाबु २४ हजार ६ सय ४२ मत ल्याएर विजयी भएका छन् । मेयर पदमा प्रतिद्धन्द्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ३ सय १६ मत ल्याएका छन् ।
साथै उपमेयरमा नेपाली कांग्रेसका गीता सत्यालले १९ हजार ८ सय १९ मत ल्याएर विजयी भएकी छिन् ।

कमेन्ट गर्नुहोस्