
चीन र अमेरिकाले जो बाइडन राष्ट्रपति बनेपछि पहिलोपटक अलास्काको एंकरेजमा १८ र १९ मार्चमा उच्चस्तरीय बैठक आयोजना गरे ।
अमेरिकाका तर्फबाट परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभान वार्तामा सहभागी थिए । चीनले चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य याङ जीची र स्टेट काउन्सिलर वाङ यीलाई बैठकमा पठाएको थियो ।
यस बैठकले बदलिँदो भूराजनीतिक ल्यान्डस्केपमा अमेरिका र चीनबीचको सम्बन्धको दिशा निर्धारण गर्ने अपेक्षा थियो । यस विषयमा तीनवटा निष्कर्ष निकाल्न सकिन्छ ।
पहिलो, अमेरिकाविरुद्ध शक्ति सन्तुलन थप खराब बन्दै गएको पृष्ठभूमिमा यो बैठक गरिएको थियो । चीनमा मात्र नभई विश्वभरि नै चीन उदाउँदो र अझै विस्तार भइरहेको शक्ति अनि अमेरिका चाहिँ अस्ताउँदो शक्तिका रूपमा देखिएको धेरैको धारणा छ । अस्ताउँदै भए पनि अमेरिकासँग बलियो आर्थिक, सैन्य र प्राविधिक शक्ति छ ।
अमेरिकाले पहिलो क्वाड शिखर सम्मेलन लगायत विभिन्न मुलुकसँग साझेदारी तथा पार्टनरशिपको प्रदर्शन गरेपछि चीनसँग बैठक गर्ने आवश्यकता अनुभव गरेको हो ।
उसले बैठकअघि हङकङमा नागरिक स्वतन्त्रतामा नयाँ नियन्त्रण लगाएकोमा कैयौं चिनियाँ अधिकारीहरूविरुद्ध प्रतिबन्ध समेत घोषणा गरेको थियो । त्यसै समयमा अमेरिकाको एक युद्धपोत ताइवान जलसन्धिमा पनि पुगेको थियो ।
यसको विपरीत चीन बैठकको परिणामलाई प्रभावित पार्नका लागि आफ्नो शक्तिमा आत्मविश्वासी भएको देखिन्थ्यो । द्विपक्षीय सम्बन्धलाई अमेरिकाले शक्तिको स्थितिबाट हेर्ने भनी ब्लिन्केनले गरेको दाबीलाई याङ जीचीले बारम्बार मजाकमा उडाए ।
उनले भने, ‘शक्तिको स्थितिबाट चीनसँग कुरा गर्न चाहेको भन्ने योग्यता अमेरिकासँग छैन । यसो भन्नका लागि अमेरिका २० वा ३० वर्षअघि पनि योग्य थिएन किनकि चिनियाँ जनतासँग कुरा गर्ने यो तरिका हैन ।’
दोस्रो, चिनियाँ कूटनीतिकर्मीहरूले अमेरिका तथा पश्चिमले भन्ने गरेको ‘नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ लाई स्पष्ट रूपमा अस्वीकार गरे र संयुक्त राष्ट्रसंघको बडापत्र बमोजिमको अन्तर्राष्ट्रिय व्यवस्थाको समर्थन गरे । स्पष्ट रूपमा भन्दा चीनले भूराजनीतिक खेल आफ्नै नियममा आधारित रही खेल्नेछ वा उसका हितको सम्मान हुने नयाँ शर्तमा रही सम्झौता गर्न अड्डी कस्नेछ ।
तेस्रो, केही विश्लेषकहरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सामुन्ने अमेरिकी अधिकारीहरूले सीधासीधा कुरा राखेकोमा प्रशंसा गरेका भए पनि अमेरिकाको कडाकडा कुराको जवाफ चीनले उस्तै कडा रूपमा फर्कायो । यसको अपेक्षा अमेरिकाले गर्नुपर्थ्यो ।
चिनियाँ पक्षलाई रक्षात्मक अवस्थामा पुर्याउने उद्देश्य थियो भने त्यसभन्दा विपरीत पो भइदियो । यस्ता अवसरमा पालन गर्नुपर्ने सामान्य मर्यादालाई अमेरिकी अधिकारीहरूको आरोपमूलक बयानले उल्लंघन गरेको थियो । प्रायः बन्द कोठामा ठोस कुरा गर्नुअघि प्रेसको सामुन्ने चाहिँ विनम्र रूपमा कुरा गर्ने गरिन्छ तर प्रेसकै अगाडि ठाडोठाडो कुरा गरियो ।
यस्ता कडाकडा कुरा गरेर अमेरिकी जनतालाई हामी बलियो छौं भनी देखाउन खोजिएको हो भने चिनियाँ पक्षले आफ्नो जनताका लागि झनै कडा कुरा गर्छन् भनी अपेक्षा गर्नुपर्थ्यो ।
बन्द कोठाभित्र गरिएको ठोस कुराकानीको के परिणाम आयो थाहा छैन तर अमेरिकाले आगामी दिनमा चीनसँग प्रतिस्पर्धात्मक सहअस्तित्वको जुन भिजन बनाएको छ त्यसको सम्भावना न्यून देखिन्छ । जलवायु परिवर्तन जस्ता साझा चासोका विषयलाई एउटा कोष्ठकमा राख्ने अनि मतभिन्नता भएका अन्य विषयमा भिडन्त बढाउने काम व्यवहारमा लागू गर्न मुश्किल छ ।
चिनियाँ दृष्टिकोणबाट हेर्दा अमेरिकाले चीनसँगको भिडन्तका लागि साझेदारी र पार्टनरशिप विकास गर्नु उसकै विश्वसनीयताको अभाव हो । अमेरिका र उसका साझेदारहरूको चीनसँग गहिरो आर्थिक तथा वाणिज्यिक चासो जोडिएको छ र त्यो भिडन्तको राजनीतिभन्दा सर्वथा विपरीत छ भन्ने तर्क चिनियाँ पक्षले राखेको छ । यसलाई काट्नका लागि अमेरिकाले निकै विश्वसनीय तर्क गर्नुपर्ने हुन्छ ।
सेमीकन्डक्टर लगायतका उच्च प्रविधिका क्षेत्रमा सम्बन्ध विच्छेद वास्तविकता भए पनि चीन र उसका महत्त्वपूर्ण पार्टनरहरूसँगको विस्तृत व्यापारमा यस्तो सम्बन्ध विच्छेद लागू हुँदैन ।
त्यसोभए बाइडन प्रशासनमा अमेरिका–चीन सम्बन्धको स्थिति कस्तो रहला ? त्यसो त अमेरिकालाई अस्ताउँदो र शक्ति क्षीण भएको मुलुक भनी गिल्ला गरिएको भए पनि उसले उल्लेख्य रूपमा उत्थानशीलता तथा पुनरुदयको क्षमता देखाएको छ ।
सन् १९७० मा अमेरिकाले चीनसँग सम्बन्ध आरम्भ गर्दा त्यसलाई बेइजिङ तथा अन्य अमेरिकी साझेदारहरूले शक्तिशाली सोभियत संघविरुद्ध सन्तुलन बनाउने कदमका रूपमा हेरेका थिए । सन् १९७० को दशकमा भियतनाम युद्धमा हार तथा अमेरिकी डलरलाई गोल्ड स्ट्यान्डर्डसँग सम्पर्क विच्छेद गराइँदा अमेरिकी पतनको जिकिर थप बलियो बनेको थियो ।
त्यसको एक दशकपछि जापानको उदय तथा जापनी येन र अन्य महत्त्वपूर्ण मुद्राको तुलनामा अमेरिकी मुद्राको मूल्य घटाउने प्लाजा एकर्डले पनि पतनको भाष्यलाई मजबूत बनाएका थिए ।
म सन् १९८६ देदि १९८९ सम्म जापानमा कूटनीतिकर्मीका रूपमा काम गर्दा अहिले चीनमा जस्तो गरी विजयभाव तथा घमण्ड गरेको देखिन्थ्यो । तर त्यो त शीतयुद्धदेखि सन् २००७–०८ को आर्थिक मन्दीसम्मको अमेरिकी एकध्रुवीय कालको उपक्रम भनी प्रमाणित भयो ।
अमेरिका र चीनको सम्बन्ध कस्तो हुनेछ भन्ने कुरा बाइडन प्रशासनको थप राम्रो बनाउने (बिल्डिङ ब्याक बेटर) आर्थिक रणनीतिको सफलताले निर्धारण गर्नेछ । प्रविधिको क्षेत्रमा अमेरिकाको सर्वोत्कृष्टता अद्वितीय छ र अमेरिकी सेनाको जस्तो विश्वव्यापी पहुँच अरू कसैको पनि छैन । त्यसैले पुनरुदयका महत्त्वपूर्ण अवयवहरू विद्यमान छन् ।
बाइडनले पनि लोकतन्त्रप्रति मानिसहरू निराश भएको र त्यसलाई काउन्टर दिनु महत्त्वपूर्ण रहेको कुरा बुझेका छन् । चीनको निरंकुश मोडल अपेक्षा गरेभन्दा बढी शक्तिशाली प्रमाणित भएको छ । लोकतान्त्रिक मुलुकहरूले लोकतन्त्रका मान्यतामा विश्वास पुनः आर्जन गर्न सक्छन् कि सक्दैनन् भन्ने खुला प्रश्न हो ।
द प्रिन्टमा प्रकाशित भारतका पूर्व विदेशसचिव श्याम शरणको आलेखको अनुवाद