प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले आयोजनाको पूर्वतयारी सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउन यसअघि दिइएको निर्देशनलाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल सरकार सहरी विकास मन्त्रालयलाई पुन: निर्देशन दिएको छ ।
समितिको बुधवार बसेको बैठकमा हनुमन्ते कोरिडोरको हालसम्मको कार्यप्रगतिको सम्बन्धमा छलफल गरेपछि समितिले मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।
समितिका निर्णयहरू सुनाउँदै सभापति कल्याणीकुमारी खड्काले भनिन्, ‘आयोजना पूर्वतयारीका काम सम्पन्न नगरी ठेक्का नलगाउन समितिले यसअघि नै मन्त्रालयहरूलाई र सम्बन्धित निकायलाई निर्देशन दिएको विषयमा पुन:स्मरण गराउँदै आगामी दिनमा सोही अनुसार प्रक्रिया पूरा गरी आयोजनाको काम अगाडि बढाउन र कडाइका साथ समितिको निर्देशनलाई कार्यान्वयन गरी काम अगाडि बढाउन समिति नेपाल सरकार सहरी विकास मन्त्रालयलाई निर्देशन गर्दछ ।’
हनुमन्ते कोरिडोरको निर्माण कार्यमा उल्लेख्य प्रगति भएको देखिएपनि मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाभित्रका केही स्थानमा देखिएका समस्यालाई तत्काल समाधान गर्न सम्बन्धित सबैलाई समितिले सुझाव समेत दिएको छ ।
सभापति खड्काले भनिन्, ‘हनुमन्ते कोरिडोर निर्माणको कार्यमा उल्लेख्य प्रगति भएको देखिएतापनि मध्यपुरथिमि नगरपालिका वडा नं. ३ र सूर्यविनायक नगरपालिका वडा नं. २ का केही स्थानमा देखिएको अवरोध जनताका समस्या समाधान स्थानीय तह, जिल्ला प्रशासन र सम्बन्धित आयोजनाहरूले आवश्यक समन्वय गरी उपयुक्त निकास निकाल्न आवश्यक देखिएको छ । यसर्थ निकास निकाल्नको लागि यो समिति पहल गर्नको लागि सुझाव दिन्छ ।’
कोरिडोर निर्माणका क्रममा नागरिकको जग्गा समेत पर्ने भएकोले सम्पत्तिको हक संरक्षण गरी जग्गा एकीकरण योजनामार्फत सुनिश्चित गर्ने र अन्य समस्या समाधानका लागि समितिले समेत पहल गर्ने निर्णय बैठकले गरेको सभापति खड्काले बताइन् ।
उनले भनिन्, ‘हनुमन्ते कोरिडोर निर्माणका क्रममा नागरिकहरूको जग्गा समेत पर्ने भएकोले सम्पत्तिको हकको संरक्षण गरेर सो कार्य जग्गा एकीकरण योजनामार्फत सुनिश्चित गर्ने र कोरिडोर निर्माण सम्बन्धमा अन्य समस्याहरू देखिएमा त्यसको समाधानका लागि समितिले आवश्यक पहल गर्नेछ ।’