
चीन र रुसले क्षेत्रीय सुरक्षामा ध्यानमा राख्दै नयाँ मञ्च बनाउने प्रस्ताव राखेका छन् । त्यसलाई क्षेत्रीय सुरक्षा संवाद मञ्च भनिएको छ ।
यो प्रस्ताव दक्षिण चीनको शहर गुइलिनमा चीनका परराष्ट्रमन्त्री वाङ यी र रुसी समकक्षी सर्गे लाभरोभबीचको बैठकपछि आएको हो ।
बैठकमा दुवै देशका परराष्ट्रमन्त्रीले क्षेत्रीय टकरावका लागि साना साना समूह बनाएको भन्दै अमेरिकाको आलोचना गरे ।
यो बैठक १२ मार्चमा भएको क्वाड शिखर सम्मेलन तथा १९ मार्चमा भएको अमेरिका–चीन शीर्ष अधिकारीको सम्मेलनपछि भएको हो ।
चीन र रुसले संयुक्त प्रेस विज्ञप्तिमा भने, ‘दुवै पक्षले यस क्षेत्रमा देशहरूको सुरक्षा चिन्ताको समाधानका लागि नयाँ सहमति बनाउनका लागि क्षेत्रीय सुरक्षा संवाद मञ्च गठन गर्ने प्रस्ताव राखेका थिए ।’
चीन र रुस पहिलेदेखि नै शांघाई सहयोग संगठन (एससीओ) सुरक्षा समूहका सदस्य छन् । त्यसमा भारत र पाकिस्तान पनि सदस्य छन् ।
प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘अमेरिकाले हालैका वर्षमा वैश्विक शान्ति र विकासमा पुर्याएको हानिमा विचार गर्नुपर्ने अन्तर्राष्ट्रिय समुदायको मान्यता छ । अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र क्षेत्रीय टकरावका लागि ससाना समूह बनाउन बन्द गर्नुपर्छ ।’
बैठकमा चीन र रुसले अमेरिकाको खेदो खने । अमेरिकाले ससाना समूह बनाएको भन्दै उनीहरूले क्वाडलाई इशारा गरेका हुन् ।
क्षेत्रीय सुरक्षा मञ्चको प्रस्ताव पनि क्वाडकै स्वरूपमा हेरिएको छ ।
चीनका परराष्ट्र राज्यमन्त्री लुओ चाओहुईले क्वाडलाई चीनविरोधी फ्रन्टलाइन तथा मिनी नेटो भनेका छन् । क्वाड समूहले भविष्यमा चीनविरोधी कारवाही गर्न सक्ने चिन्ता चीनले लिएको विश्लेषकहरूको मत छ ।
रुसले चीनको समर्थन गर्दै क्वाडबाट क्षेत्रीय सुरक्षा खतरामा पर्ने आशंका व्यक्त गरेको छ ।