
नेपाल दूरसञ्चार कम्पनीले (नेपाल टेलिकम) आफ्ना शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको शुक्रवार सम्पन्न तेह्रौं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफा रकममध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले सोही आवका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू पारित गरेको कम्पनीले जनाएको छ ।
टेलिकम सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले ग्राहकको अपेक्षाअनुरूप गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराइएको बताएका थिए । उनले कम्पनीलाई सबल र अग्रणी संस्थाको रूपमा विकास गरिएको जनाउँदै बन्दाबन्दीको अवधिमा ग्राहकलाई विभिन्न सेवाहरू उपलब्ध गराइएको जानकारी दिए ।
टेलिकमले टपअपमा प्रदान गरेको शतप्रतिशत बोनस, जिरो ब्यालेन्स प्याकेज, मोबाइल इन्टरनेट सेवाको आधारभूत दरमा प्रदान गरिएको २७–३० प्रतिशतसम्मको छुट, कोरोना राहत कोषमा कम्पनीको तर्फबाट १० करोड रुपैयाँ र कर्मचारीको तर्फबाट २ करोड गरी १२ करोड रुपैयाँ योगदान गरेको थियो ।
गत आर्थिक वर्ष २०७६/७७ मा कर तथा गैरकरबापत सरकारी राजस्वमा ३५ अर्ब ५ करोड रुपैयाँ बुझाएको थियो ।
टेलिकमलाई गत आर्थिक वर्ष २०७६/७७ मा ४२ अर्ब ९९ करोड राजस्व र ९ अर्ब ७५ करोड रुपैयाँ नाफा भएको बताइएको छ ।